अभिभावकीय भूमिका निर्वाह हुने

Spread the love

                  राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलका शीर्ष  नेताले आगामी दिनमा राष्ट्रपतिबाट संविधानविरुद्धको गतिविधि र हस्तक्षेपकारी भूमिका हुन नहुनेमा जोड दिनुभएको छ । उहाँहरुले विगतको अनुभवबाट पाठ सिक्दै राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

                      आठ राजनीतिक दलले बिहीबार यहाँ आयोजना गरेको अभिमुखिकरणमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबाट विगतमा पटकपटक संविधानविरुद्धको गतिविधि भएकाले अहिलेको प्रमुख चुनौती संविधानको सही कार्यान्वयन तथा विकास र सुशासन रहेको बताउनुभयो ।

                      अभिमुखीकरणपछि संचारकर्मीले गठबन्धनको आयु र मन्त्रिपरिषद् विस्तारबारे राखेको जिज्ञासामा   सङ्क्षिप्त प्रतिक्रिया दिंदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “गठबन्धन पाँच वर्ष टिक्छ, मन्त्रिपरिषद् विस्तारको प्रक्रिया आजै (बिहीबार ) देखि सुरु हुन्छ ।”

                      उहाँले निर्वाचित राष्ट्रपतिबाट राष्ट्रिय एकताको प्रवद्धन र संविधानको संरक्षकत्व प्रदान हुने विश्वास व्यक्त गर्नुभयो । सहभागी स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले मङ्सिर ४ गतेको निर्वाचनमा पाएको मत पाँच दलको साझा मत रहेको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “बिचमा बरालिएका थियौं तर अब ठीक ठाउँमा आएका छौँ, सुशासन र समृद्धिका निम्ति आगामी राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गर्नुहुने विश्वास लिएका छौँ ।” प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबाट ‘संसद विघटन ठीक थियो’ भन्ने अभिव्यक्ति आएपछि नयाँ विकल्प खोजेको बताउनुभयो ।

             नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेलको प्रजातन्त्रप्रतिको प्रतिबद्धता र लामो सङ्घर्षले नै यति धेरै दलले राष्ट्रपति पदमा समर्थन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानको मर्म र भावनालाई पौडेलले अविचलित रुपमा जीवन्त राख्नेमा  द्धिविधा छैन ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले गठबन्धन ब्युँताउन प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको भूमिकाको प्रंशसा गर्नुभयो ।

             नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी राष्ट्रपतिले विगतका त्रुटिबाट सिक्दै जिम्मेवारी राम्ररी वहन गर्नुहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,”विगतमा के के त्रुटिहरु हुन गए, के के राम्रा कुरा भए ध्यानमा राखेर जिम्मेवारी राम्ररी वहन गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरेका छौँ ।”

             अभिमुखीकरणमा सहभागी नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई दस राजनीतिक दलले समर्थन गरेको र थप एक राष्ट्रिय दलले समर्थन गर्ने गरी छलफल अगाडि बढेको प्रधानमन्त्रीले जानकारी गराएको जानकारी दिनुभयो । नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । पौडेललाई नेपाल समाजवादी पार्टी र प्रतिनिधि सभा सदस्य प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीले समेत समर्थन गरेको बताइएको छ । नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदका उम्मेदवार हुनुहुन्छ ।

             कांग्रेस प्रवक्ता महतले प्रदेशमा मात्रै प्रतिनिधित्व रहेका केही दलले समेत समर्थन गरेको बताउनुभयो । प्रदेश सभा र प्रतिनिधि सभामा कुल १४ राजनीतिक दलको प्रतिनिधित्व छ ।

             सो कार्यक्रममा आठ दलबाट निर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यको उपस्थिति थियो ।

             राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले आफू निर्वाचित भए संविधानको अक्षरक्ष: पालना गर्ने र गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदै छ । निर्वाचनमा सङ्घीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी दुवै सदनका सदस्य र सातवटै प्रदेशका प्रदेश सभा सदस्य गरी ८८२ जना मतदाता छन् ।