समाचार

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु जुवातास खेल्दै गरेका ८ जना पक्राउ

Spread the love


भरतपुर, कात्तिक १९। चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने प्रहरीले जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ। वन क्षेत्रमा निउरो टिप्न गएका भरतपुर महानगरपालिका–२७ का ४६ वर्षीय भीम महतोको बाघको आक्रमणबाट मृत्यु भएको हो।
प्रहरीका अनुसार २०८३ कात्तिक १७ गते दिउँसो करिब २ बजे महतो चार जनाको समूहमा राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी खोलाको छेउमा निउरो टिप्न गएका थिए। सोही क्रममा उनलाई बाघले आक्रमण गरी लगेको थियो।
घटनाबारे महतोसँगै गएका साथीहरूले सोही दिन साँझ ५ः४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगरमा जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीय बासिन्दा तथा वन कर्मचारीको समन्वयमा खोजी कार्य सुरु गरिएको थियो।
खोजतलासका क्रममा कात्तिक १८ गते बिहान १०ः५५ बजे चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा महतोको शव फेला परेको प्रहरीले जनाएको छ। शव फेला परेको स्थाननजिकै रहेको बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छखोजतलासका क्रममा कात्तिक १८ गते बिहान १०ः५५ बजे चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा महतोको शव फेला परेको प्रहरीले जनाएको छ। शव फेला परेको स्थाननजिकै रहेको बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यसैबीच, चितवन प्रहरीले कात्तिक १७ गते नै खैरहनी नगरपालिका–८ पानीटंकी चोकमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा खैरहनी नगरपालिका–६ का ५९ वर्षीय लक्ष्मण खरेल, वडा नम्बर ८ का ३६ वर्षीय विक्रम श्रेष्ठ, ४५ वर्षीय धनिजरा चौधरी, ३१ वर्षीय उमेश गुरुङ, ५० वर्षीय लिल पुन, ४८ वर्षीय बाबुराम खरेल, वडा नम्बर ९ का ३९ वर्षीय राजु लामा र वडा नम्बर ८ का २६ वर्षीय पारस तामाङ रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १० बुक तास र नगद ७७ हजार ९९५ रुपैयाँ बरामद गरेको छ। पक्राउ परेका आठै जनामाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वन क्षेत्रमा वन्यजन्तुको जोखिम र जुवातासजस्ता गैरकानुनी गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायको निगरानी तथा सचेतना आवश्यक रहेको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।