चीनले चासो देखाएपछि घटनाक्रमले नयाँ मोड
स्थानीय आयोजकमध्ये एक तथा काठमाडौं विश्वविद्यालयअन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) का निर्देशक डा. सागरराज शर्माले सरकारको आग्रहपछि कार्यक्रम नगर्ने निर्णय गरिएको पुष्टि गरेका छन्।भदौ पहिलो सातादेखि काठमाडौंमा आयोजना हुने तय भएको इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (IATS) को १७औँ अन्तर्राष्ट्रिय सम्मेलन नेपाल सरकारको आग्रहमा रद्द गरिएको
काठमाडौंमा पहिलोपटक आयोजना हुने तय भएको उक्त सम्मेलन हिकास र सेन्टर फर बुद्धिस्ट स्टडिज राङजुङ येसे इन्स्टिच्युटले संयुक्त रूपमा आयोजना गर्ने तयारी गरेका थिए। सम्मेलन भदौ ७ देखि १३ गतेसम्म सञ्चालन हुने तालिका थियो, जसमा ३९ देशका ७२० जना प्रतिनिधि सहभागी हुने निश्चित भइसकेको थियो।
स्रोतका अनुसार, सम्मेलनप्रति चीनले चासो देखाएपछि घटनाक्रमले नयाँ मोड लिएको हो। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग भेट गरी सम्मेलनबारे चासो व्यक्त गरेका थिए। विशेषगरी दलाइ लामाका प्रतिनिधिहरू नेपाल आउन सक्ने र तिब्बती मामिलासम्बन्धी विषयमा छलफल हुन सक्ने सम्भावनाप्रति चीनले संवेदनशीलता जनाएको बताइएको छ।यसअघि केन्द्रीय तिब्बती प्रशासन (CTA) ले पनि चीनको दबाबपछि आफ्ना प्रतिनिधि सम्मेलनमा नपठाउने निर्णय गरेको जनाइएको छ।परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार सम्मेलन स्थगित गर्ने निर्णयले छिमेकी मुलुकहरूसँगको कूटनीतिक संवेदनशीलतालाई समेत ध्यानमा राखिएको छ।सन् १९७७ मा स्विट्जरल्यान्डबाट सुरु भएको इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज सम्मेलन यसअघि बेलायत, अमेरिका, जर्मनी, जापान, नर्वे, अस्ट्रिया, नेदरल्यान्ड्स, क्यानडा, मंगोलिया, फ्रान्स र चेक गणतन्त्रलगायत देशमा आयोजना भइसकेको थियो। नेपालमा भने यो सम्मेलन पहिलोपटक आयोजना हुने तय भएको थियो।
