सुन बहुमूल्य धातु बोकेर ल्याउँदा सम्बन्धित व्यक्तिले कानुनी झन्झट भोग्नुपर्ने
श्रम स्वीकृति मा विदेशमा काम गरेर फर्किने नेपालीहरूलाई अपरिचित व्यक्ति, दलाल वा सुन तस्करहरूको प्रलोभनमा नपर्न आग्रह गरिएको छ।विदेशबाट फर्किने नेपालीलाई विमानस्थल सुरक्षा कार्यालयको विशेष चेतावनीदिएकाे छ ।नेपाल प्रहरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर ले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई लक्षित गर्दै विशेष सार्वजनिक सूचना जारी गरेको हाे ।
सुरक्षा कार्यालयका अनुसार केही व्यक्तिले पैसा वा उपहारको लोभ देखाएर सुन, बहुमूल्य धातु, इलेक्ट्रोनिक सामान वा अन्य सामग्री नेपाल ल्याइदिन अनुरोध गर्ने गरेका छन्। यस्ता वस्तु बोकेर ल्याउँदा सम्बन्धित व्यक्तिले कानुनी झन्झट र कारबाही भोग्नुपर्ने भएकाले अत्यन्त सावधानी अपनाउन भनिएको छ।
जारी सूचनामा अपरिचित व्यक्ति, दलाल वा सुन तस्करको प्रलोभनमा नपर्न, आफ्नो ब्यागमा के छ भन्ने पूर्ण जानकारी राख्न, अरूको सामान आफ्नो नाममा नल्याउन, शंकास्पद गतिविधि देखिए तुरुन्त सुरक्षा निकायलाई जानकारी गराउन तथा आवश्यक सबै कागजात सुरक्षित राख्न आग्रह गरिएको छ।नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा सुन तस्करीका घटनामा वैदेशिक रोजगारीबाट फर्किएका केही नेपालीलाई ‘क्यारियर’ का रूपमा प्रयोग गरिएको तथ्य फेला परेपछि यस्ता चेतावनीलाई अझ कडा बनाएको जनाएको छ। सम्बन्धित नियम उल्लंघन गरे कानुनअनुसार कारबाही हुने पनि सुरक्षा निकायले स्पष्ट पारेको छ।
