प्रक्रिया पुगिसकेकोले डाेजर नरोक्ने-सांसद राजु पाण्डे

Spread the love

 

टिकाराम भन्डारि

सांसद राजु पाण्डेसहितको टोली सरकारी डोजर लिएरै त्यहाँ पुगेको थियो। आफ्नो संरक्षणमा रहेको जग्गामा डोजर चलाउन थालेपछि नेपाली सेनाका अधिकृतले आवश्यक प्रक्रिया पूरा नगरी डोजर नचलाउन अनुरोध गरेका थिए। तर सांसद पाण्डेले सबै प्रक्रिया पुगिसकेको भन्दै डोजर नरोक्ने अडान लिए। त्यसपछि सेनाका अधिकृतले लिखित पत्र माग गरेका थिए। काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ स्थित नेपाल ट्रस्टको जग्गामा सांसद राजु पाण्डेसहितको टोलीले डोजर चलाएको छ। नेपाली सेनाको संरक्षणमा रहेको उक्त जग्गाबाट करिडोरको बाटो खुलाइएको वडा नं ४ का अध्यक्ष जयराम महतले बताए। 

आफू प्रधानमन्त्रीसँग छलफल गरेर र प्रधानमन्त्रीको आदेश लिएरै आएको बताउँदै पाण्डेले कुनै पनि हालतमा डोजर नरोकिने र करिडोरको बाटो खोलेरै छाड्ने बताएका थिए। सांसद पाण्डेले त्यहाँ जानु पहिले नै स्थानीय जनप्रतिनिधिलाई आफूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग छलफल गरिसकेको बताउँदै तयारी अवस्थामा बस्न भनेका थिए। त्यसपछि स्थानीय प्रतिनिधि र स्थानीय जम्मा भएर ट्रस्टको जग्गामा डोजर चलाइएको थियो। 

त्यस क्रममा पाण्डे र सेनाका अधिकृतबिच भएको संवादको भिडिओ सार्वजनिक भएको छ। जसमा पाण्डेले जबर्जस्ती गरेको देखिन्छ। पाण्डेले सेनाका अधिकृतलाई भन्छन्, ‘नेपाल ट्रस्टलाई सोध्नुस् न तपाईंलाई किन चाहियो?’फौज बसेको छ नि त भित्र, ब्यारेक बसेको छ नि’, सेनाका क्पाप्टेनले जवाफ दिन्छन्। फौज बसेको छ त के भो’, पाण्डे थप्छन्, ‘केही सेक्युरिटी प्रोबलम छैन यहाँ। तपाईंहरूको सेन्ट्री होला के होला। यो जीर्ण पर्खाल राखेर ठिक हुन्छ र, कुनै पनि बेला डिजास्टर हुन सक्छ।’हो हजुर, त्यो माने हजुर। तर मलाई अथोरेटी त चाहियो नि हजुर’, सैनिक अधिकृत बिन्ती गर्छन्। तर पाण्डे हप्कादप्काइ गर्दै भन्छन्, ‘यो करिडोरको बाटो पहिल्यै खोलिदिनु पर्ने होइन? किन नखोलिदिएको? मैले सिस्टम बुझेको छु।’

करिडोरको जग्गा भएको र जनताले करिडोरको जग्गा छाड्दा अर्को निकायले पनि राख्न नमिल्ने जिकिर पाण्डेले गरे। सेनाका ती अधिकारी भन्छन्, ‘ब्यारेक छ। त्यस्तो होइन, मापदण्ड सबैलाई लागु हुन्छ’, पाण्डे भन्छन्। सैनिक अधिकारी एकैछिन रोकिदिन अनुरोध गर्छन्। तर पाण्डे भन्छन्, ‘रोकिँदैन। यो डोजर रोकिँदैन। किनभने मैले आदेश स्पष्ट लिएर आएको छु।’त्यसपछि निरन्तर डोजर चल्छ र बाटो खुल्छ।यो बाटो खुलाउन २०६७ सालदेखि अनुरोध गरिएको वडाध्यक्ष महतले बताए।त्यतिबेला तत्कालीन प्रधानमन्त्रीलाई भन्दा पनि बाटो खुलाउने वचन दिएको तर काम नभएको उनले बताए।त्यसपछि बनेका हरेक सरकारलाई अनुरोध गर्दा पनि नखुलेको बाटो सोमबार खुलेको र स्थानीयलाई आवातजावतमा सहज भएको वडाध्यक्ष महतको भनाइ छ।