सिद्धबाबा सुरुङ सञ्चालनमा आएपछि वर्षायाममा हुने पहिरो ढुंगा खस्ने जोखिम घट्ने
मुख्य सुरुङको इनभर्ट (तल्लो संरचना) निर्माण पूरा भइसकेको छ भने सुरुङभित्रको लाइनिङ, विद्युतीकरण, सुरक्षा प्रणाली र अन्तिम फिनिसिङ को काम तीव्र रूपमा भइरहेको छ। यदि निर्माणको वर्तमान गति कायम रहेमा दशैंअघि सुरुङमार्गबाट सवारी सञ्चालन गर्ने लक्ष्य पूरा हुने अपेक्षा गरिएको छ।पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी दशैंअघि नै सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ। परियोजना कार्यालयका अनुसार सुरुङको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ र दशैंअघि नै सञ्चालनमा आउने तयारीमा सिद्धबाबा सुरुङमार्ग हालसम्म करिब ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ।
१.१२६ किलोमिटर लामो यो सुरुङ सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण सिद्धबाबा खण्डमा निर्माण भइरहेको हो। यो सडक पहिरो, ढुंगा खस्ने र दुर्घटनाका कारण लामो समयदेखि ‘मृत्युमार्ग’ भनेर चिनिँदै आएको छ। सुरुङ सञ्चालनमा आएपछि बुटवल, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा लगायतका जिल्लामा यात्रा गर्ने यात्रुलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।सुरुङसँगै आपत्कालीन प्रयोजनका लागि बाइपास सुरुङ, ढल निकास, भेन्टिलेसन, विद्युतीकरण र अन्य सुरक्षा पूर्वाधारको काम पनि समानान्तर रूपमा अघि बढिरहेको छ। परियोजना राष्ट्रिय गौरवका आयोजनामध्ये एक हो।सिद्धबाबा सुरुङ सञ्चालनमा आएपछि वर्षायाममा हुने पहिरो र ढुंगा खस्ने जोखिम उल्लेखनीय रूपमा घट्ने तथा बुटवल र पहाडी जिल्लाबीचको आवागमन अझ सुरक्षित, सहज र भरपर्दो हुने अपेक्षा गरिएको छ।
