खराब मौसमका कारण खोजी अभियान अस्थायी रूपमा स्थगित
गिलगिट–बाल्टिस्तान सरकारका अनुसार फेला परेका शवमध्ये अमेरिकाकी ३९ वर्षीया म्यालोरी गेइस, नेपालका पुरबहादुर गुरुङ र ओमानकी नाधिरा अल हार्थीको पहिचान भइसकेको छ। चौथो शवको सनाखत भने अझै सार्वजनिक गरिएको छैन।पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी अमेरिकी पर्वतारोही म्यालोरी गेइसको मृत्यु पुष्टि भएको छ। यससँगै हालसम्म फेला परेका चार शवमध्ये तीन जनाको पहिचान खुलेको छ भने निर्मल पुर्जा (निम्सदाइ) सहित ६ जना आरोही अझै बेपत्ता छन्।
अधिकारीहरूका अनुसार १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली जुलाई २९ मा ब्रड पिक आरोहणका लागि स्कार्दु पुगेको थियो। टोलीसँग जुलाई ३० को बिहान ९ बजे अन्तिम सम्पर्क भएको थियो। त्यसपछि करिब ६ हजार ६६० मिटर उचाइमा आरोहणका क्रममा हिमपहिरो गएको र टोली सम्पर्कविहीन भएको जनाइएको छ।
खोज तथा उद्धार अभियान शुक्रबार बिहान सुरु गरिएको थियो। उद्धारकर्मीले आधार शिविरबाट पैदल उक्लिने क्रममा तीन शव फेला पारेका थिए। खराब मौसमका कारण खोजी अभियान अस्थायी रूपमा स्थगित गरिएको छ भने शनिबार पुनः सुरु गरिने जनाइएको छ।सरकारी विज्ञप्तिअनुसार ड्रोनबाट लिइएका दृश्यमा थप शवहरू देखिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि, प्रतिकूल मौसमका कारण ती स्थानसम्म तत्काल पुग्न नसकिएको बताइएको छ।
मृत्यु पुष्टि भएकी म्यालोरी गेइस अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियो निवासी थिइन्। उनी पहिलो पटक ब्रड पिक आरोहण अभियानमा सहभागी भएकी थिइन्। आरोहणअघि उनले आफ्नो पिलाटेस स्टुडियो बन्द गरेर पूर्ण रूपमा साहसिक पर्वतारोहणमा केन्द्रित हुने निर्णय सार्वजनिक गरेकी थिइन्।विश्वको १२औँ अग्लो हिमाल मानिने ब्रड पिक प्राविधिक रूपमा निकै कठिन हिमालमध्ये एक हो। सन् १९५७ मा पहिलो पटक सफल आरोहण भएयता यसको शिखर पुग्ने प्रयासमा दर्जनौँ पर्वतारोहीले ज्यान गुमाइसकेका छन्।
