इरानी मिसाइल आक्रमणमा कुवेतमा कार्यरत एक नेपाली श्रमिकको मृत्यु

Spread the love

नेपाली राजदूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्र फुफेन आइल्यान्डस्थित एक चिनियाँ कम्पनीको भवनमा भएको मिसाइल आक्रमणमा तामाङको ज्यान गएको हो। उनी सन् २०२२ देखि उक्त कम्पनीमा सवारी चालकका रूपमा कार्यरत थिए। घटना जुलाई ३०, २०२६ मा भएको जनाइएको छ।इरानी मिसाइल आक्रमणमा कुवेतमा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेका छन्।

कुवेतको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार इरानी आक्रमणमा चिनियाँ कम्पनीको भवनलाई निशाना बनाइएको थियो। घटनामा एक श्रमिकको मृत्यु हुनुका साथै भवनमा ठूलो भौतिक क्षति पुगेको जनाएको छ।रक्षा मन्त्रालयका प्रवक्ता साउद अल–अतवानले घटनापछि सम्बन्धित निकायले तत्काल उद्धार तथा व्यवस्थापनका काम सुरु गरेको र कुवेती सशस्त्र बलले देशको सुरक्षा तथा स्थायित्व कायम राख्न आवश्यक सबै कदम चालिरहेको बताएका छन्। उनले कुवेतमा बसोबास गर्ने सबै नागरिक तथा विदेशीको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको पनि उल्लेख गरेका छन्।

नेपाली राजदूतावासले सम्बन्धित निकायसँग समन्वय गरी सोमकुमार तामाङको शव यथाशीघ्र नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको जनाएको छ।यस घटनासँगै इरान–अमेरिका–इजरायलबीच जारी युद्धका कारण पश्चिम एसियामा ज्यान गुमाउने नेपालीको संख्या दुई पुगेको छ। यसअघि यूएईमा गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो।कुवेत सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हाल कुवेतमा करिब १ लाख ८६ हजार नेपाली कार्यरत छन्। तीमध्ये अधिकांश निजी कम्पनी, घरेलु श्रम तथा सरकारी क्षेत्रमा कार्यरत रहेका छन्।