दूधमा प्रोटिन क्याल्सियम ल्याक्टोज पोषक तत्व प्रशस्त भएकाले खिर स्वास्थ्यका लागि लाभदायक
धार्मिक विश्वास, सांस्कृतिक परम्परा र स्वास्थ्यका दृष्टिले समेत महत्वपूर्ण मानिने खिर विशेषगरी वर्षायाममा शरीरलाई ऊर्जा र पोषण दिने परिकारका रूपमा लिइन्छ। दूध, चामल, चिनी, घिउ, सुकमेल तथा विभिन्न गरम मसला मिसाएर बनाइने खिरलाई सात्विक भोजनमध्ये उत्कृष्ट मानिन्छ। १५ साउन नेपाली समाजमा परम्परागत रूपमा खिर खाएर मनाइने विशेष दिनका रूपमा आज घर–घरमा खिर पकाइँदै छ। वर्षौंदेखि चलिआएको मौलिक संस्कृतिअनुसार १५ असारमा दही–चिउरा र १५ साउनमा खिर खाने परम्परा आज पनि उत्तिकै लोकप्रिय छ।
हिन्दु परम्पराअनुसार साउन भगवान् शिवको प्रिय महिना भएकाले शिवलाई दूध तथा दूधबाट बनेका परिकार अर्पण गर्ने चलन पनि छ। त्यसैले धेरै श्रद्धालुले आज खिर पकाएर भगवान् शिवलाई चढाउने र त्यसपछि परिवार तथा आफन्तसँग प्रसादका रूपमा ग्रहण गर्ने परम्परा निभाइरहेका छन्।
ग्रामीण क्षेत्रमा यस समय गाई–भैंसीले प्रशस्त दूध दिने भएकाले इष्टमित्र, छोरीचेली तथा आफन्तलाई घरमा बोलाएर खिर खुवाउने चलन पनि नेपाली संस्कृतिको अभिन्न हिस्सा बनेको छ।राष्ट्रिय दुग्ध विकास बोर्डले १५ साउनलाई ‘खिर दिवस’ का रूपमा मनाउने निर्णय गरेसँगै यस वर्ष पनि देशभर विभिन्न कार्यक्रमसहित आठौँ खिर दिवस मनाइँदै छ।विशेषज्ञहरूका अनुसार दूधमा प्रोटिन, क्याल्सियम, ल्याक्टोज तथा आवश्यक पोषक तत्व प्रशस्त हुने भएकाले खिर स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ।
