गोलबजारमा दिनभर तनाव ७ जना सशस्त्र प्रहरी घाइते
प्रदर्शन नियन्त्रणका क्रममा परियारको घुँडामुनि गोली लागेको हो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासु पाठकका अनुसार बिहीबार गोली कसले चलाएको हो भन्ने विषयमा हालसम्म यकिन भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।सिरहाको गोलबजारमा प्रदर्शन नियन्त्रणका क्रममा खटिएका एक जना प्रहरी कर्मचारीलाई गोली लागेको छ। गोली लागेर प्रहरी सहायक हवल्दार नारद परियार घाइते भएका हुन्।

सुनसरीको देवानगञ्जमा साउन १० गते भएको हिन्दू–मुस्लिम समुदायबीचको झडपपछि त्यसको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लामा पनि देखिएको छ। यही क्रममा बिहीबार सिरहाको गोलबजारमा दिनभर तनाव र झडप भएको थियो।प्रदर्शन नियन्त्रणका क्रममा नेपाल प्रहरीका डीएसपी रमेश पालसहित १२ जना प्रहरी तथा सशस्त्र प्रहरीका डीएसपी सियाराम चौधरीसहित ७ जना सशस्त्र प्रहरी घाइते भएका छन्। यससँगै सुरक्षाकर्मीसहित घाइते हुनेको संख्या १९ पुगेको छ।
घटनामा गम्भीर घाइते भएका धनुषाको मिथिला बिहारी नगरपालिका–८ का १९ वर्षीय सुवास ठाकुरलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। त्यस्तै, गोलबजार नगरपालिका–४ का ६२ वर्षीय आलम खान उपचाररत छन्।यसै घटनामा औरही गाउँपालिका–२ का १८ वर्षीय गणेश यादवको मृत्यु भएको छ। घटनापछि सुरक्षा अवस्था तनावपूर्ण बनेसँगै गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।
