स्टेम सेललाई स्वस्थ शुक्रकीटमा रूपान्तरण गराउने जैविक प्रक्रियालाई सफलतापूर्वक पुननिर्माण गरेको दाबी
कम्पनीका प्रमुख अलेक्जेन्डर पास्टुजाक का अनुसार अनुसन्धान टोलीले स्टेम सेललाई स्वस्थ शुक्रकीटमा रूपान्तरण गराउने जैविक प्रक्रियालाई सफलतापूर्वक पुनःनिर्माण गरेको दाबी गरेको छ।प्रयोगशालामै कार्यक्षम मानव शुक्रकीट उत्पादन गर्न सफल भएको दाबी गरेको छ। अमेरिकाको युटाह मा रहेको उक्त बायोटेक कम्पनीका अनुसार विशेष प्रकारका स्टेम सेल प्रयोग गरेर शरीरभित्र हुने प्राकृतिक प्रक्रियाको नक्कल गर्दै परिपक्व शुक्रकीट विकास गर्ने विधि तयार गरिएको हो।
प्रयोगशालामा विकसित ती कोशिकाबाट स्वस्थ देखिएका भ्रूणसमेत तयार गरिएको जनाएको छ। तर यी नतिजाहरू अझै स्वतन्त्र वैज्ञानिक समीक्षा तथा सहकर्मी मूल्याङ्कन (peer review) बाट पुष्टि हुन बाँकी रहेको स्पष्ट पारेको छ।यो प्रविधि विशेषगरी प्राकृतिक रूपमा शुक्रकीट उत्पादन गर्न नसक्ने, तर आवश्यक जैविक आधार भएका करिब १० देखि १५ प्रतिशत पुरुष बाँझोपनका बिरामीलाई लक्षित गरिएको बताइएको छ।
कम्पनीका अनुसार भविष्यमा यो उपचार सेवा करिब ५ हजारदेखि १२ हजार अमेरिकी डलरसम्ममा उपलब्ध गराउने योजना छ। यद्यपि, प्रविधि सर्वसाधारणका लागि उपलब्ध हुनुअघि थप प्रयोग, सुरक्षा परीक्षण, नियामक स्वीकृति तथा वैज्ञानिक पुष्टि आवश्यक रहने जनाइएको छ।यदि आगामी अध्ययन र स्वतन्त्र परीक्षणहरूले कम्पनीको दाबीलाई पुष्टि गरे, भने यो प्रविधिले पुरुष बाँझोपन उपचारको क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने अपेक्षा गरिएको छ। हालका लागि भने अनुसन्धान प्रारम्भिक चरणमै रहेको र यसको प्रभावकारिता तथा सुरक्षाबारे थप वैज्ञानिक प्रमाण आवश्यक रहेको कम्पनीले जनाएको छ।
