जेनजी आन्दोलनका क्रममा हिंसा भड्किएकोमा ४९ जना व्यक्तिमाथि सूक्ष्म अनुसन्धान
सबिना प्रजा
आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, जेनजी अभियन्ता रक्षा बम, ‘हामी नेपाल’ का अध्यक्ष सुधन गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू तथा विभिन्न युट्युबर, कन्टेन्ट क्रियटर र अभियन्ताहरूको नाम समावेश गरिएको छ।आयोगका अनुसार प्रदर्शनअघि, प्रदर्शनका क्रममा र त्यसपछिका सामाजिक सञ्जाल गतिविधि, सार्वजनिक अभिव्यक्ति, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको विवरणका आधारमा अनुसन्धान सिफारिस गरिएको हो।प्रतिवेदनमा उल्लेख भएअनुसार ती व्यक्तिहरूका अभिव्यक्तिले प्रदर्शनकारीलाई आक्रोशित तथा उत्तेजित बनाएको वा सार्वजनिक शान्ति–सुव्यवस्थामा असर पारेको हुन सक्ने भन्दै थप अनुसन्धान आवश्यक रहेको आयोगको निष्कर्ष छ।
आयोगले भनेको छ, “भदौ २३ र २४ गतेको घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा निजहरूको संलग्नता रहे–नरहेको, सार्वजनिक शान्ति भंग गर्न दुरुत्साहन भए–नभएको र अभिव्यक्तिको प्रभाव कस्तो रह्यो भन्ने विषयमा सूक्ष्म अनुसन्धान हुन आवश्यक देखिन्छ।”आयोगले अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिहरूको स्वच्छ सुनुवाइको हक सुनिश्चित गर्न तथा दोषी देखिए कानुनबमोजिम कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
अनुसन्धानको सिफारिस सूचीमा गणेश कार्की, सुलभ खरेल, रक्षा बम, डा. तोषिमा कार्की, मनिष झा, ज्वाला संग्रौला, सिसन बानिया, आशिका तामाङ, भीम उपाध्याय, हरि ढकाल, निश्चल बस्नेत, सुशीला कार्की, दुर्गा प्रसाईं, हेमसागर बिद्रोही, हिमानी राज्य लक्ष्मी सिंहलगायतका नाम समावेश छन्।आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ। कतिपयले अभिव्यक्तिको स्वतन्त्रतामाथि प्रश्न उठाएका छन् भने केहीले हिंसात्मक घटनाको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन्।
