मोटा र मसिना धानको मूल्य निर्धारण गर्न कृषि विकास मन्त्रालयलाई सिफारिस

Spread the love

सबिना प्रजा

सरकारले अब धानको समर्थन मूल्य वैज्ञानिक आधारमा निर्धारण गर्ने तयारी थालेको छ। कृषि विभागले किसानले उत्पादन गरेको मोटा र मसिना धानको उचित मूल्य सुनिश्चित गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई नयाँ समर्थन मूल्य सिफारिस गरेको हो।

विभागले देशका विभिन्न जिल्लामा धान उत्पादनको वास्तविक लागत, बीउ, मल, श्रम, ढुवानी खर्च, मुद्रास्फीति र बजार अवस्थाको स्थलगत अध्ययनपछि वैज्ञानिक मूल्य निर्धारणको प्रक्रिया अघि बढाएको जनाएको छ।

महानिर्देशक प्रकाश सञ्जेलका अनुसार २२ जिल्लामा गरिएको अध्ययनका आधारमा गत वर्षको न्यूनतम समर्थन मूल्यमा केही वृद्धि गर्दै नयाँ मूल्य प्रस्ताव गरिनेछ।

अब कृषि मन्त्रालयले उक्त सिफारिस मन्त्रिपरिषद्मा पठाउनेछ र अन्तिम निर्णयपछि सरकारले आधिकारिक रूपमा नयाँ समर्थन मूल्य सार्वजनिक गर्नेछ।

सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत किसानबाट धान खरिद गरिने तयारी छ। यसलाई किसानलाई उचित मूल्य दिलाउने र कृषि उत्पादनलाई प्रोत्साहन गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।