अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तीव्र गिरावट

Spread the love

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तीव्र गिरावट देखिएको छ।इरानसँग वार्ता सकारात्मक दिशामा अघि बढिरहेको संकेत दिँदै उनले पाँच दिनसम्म कुनै पनि सैन्य आक्रमण नगर्ने घोषणा गरेपछि कच्चा तेलको मूल्य एकैपटक करिब १३ प्रतिशतले घटेको हो।ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथसोसल’ मार्फत अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा अत्यन्त सकारात्मक र फलदायी वार्ता भएको उल्लेख गरेका थिए। उनले मध्यपूर्वमा जारी तनाव समाधानतर्फ प्रगति भइरहेको दाबी गरेका छन्।

उनका अनुसार वार्ताको सकारात्मक माहोललाई ध्यानमा राख्दै इरानी ऊर्जा केन्द्र र पूर्वाधारमाथि हुने सम्भावित आक्रमण पाँच दिनका लागि स्थगित गरिएको छ। उनले यो निर्णय वार्ताको सफलतासँग प्रत्यक्ष रूपमा जोडिएको पनि स्पष्ट पारे।यस घोषणापछि विश्व बजारमा ब्रेन्ट क्रूड आयलको मूल्य १३ प्रतिशतले घट्दै प्रतिब्यारल ९६ डलरमा झरेको छ।त्यसैगरी, ग्यासको मूल्य पनि उल्लेखनीय रूपमा घटेको छ। बीबीसीका अनुसार ग्यासको मूल्य १५९ पेन्स प्रतिथर्मबाट घटेर १३९ पेन्समा पुगेको छ।ऊर्जा बजारमा देखिएको यो गिरावटले मध्यपूर्वको तनाव कम हुने अपेक्षासँगै आपूर्ति अवरोधको जोखिम घटेको संकेत गरेको विश्लेषण गरिएको छ।