अफगानिस्तानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले अफगान सीमा पार गरेकाे आराेप

Spread the love

पाकिस्तानले अफगानिस्तानसँग जोडिएको सीमा क्षेत्रमा ‘आतंकवादी लुकेका सात स्थान’मा आक्रमण गरिएको जनाएको छ। पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले फितना अल-ख्वारिज (एफएके)सँग सम्बद्ध तहरीक-ए-तालिबान पाकिस्तान तथा इस्लामिक स्टेट अफ खोरासान प्रान्त (आईएसकेपी)लाई निसाना बनाइएको दाबी गरेको छ।

पाकिस्तानका अनुसार देशभित्र हालै भएका आत्मघाती आक्रमणहरूको प्रतिक्रियास्वरूप उक्त कारबाही गरिएको हो। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानमा आधारित नेतृत्व र ह्यान्डलरहरूको निर्देशनमा ख्वारिज समूहले पाकिस्तानमा हमला गरेको ‘बलियो प्रमाण’ रहेको उल्लेख गरिएको छ। ती हमलाको जिम्मेवारी अफगानिस्तानस्थित फितना अल-ख्वारिजसँग सम्बद्ध पाकिस्तानी तालिबान, उसका सहयोगी संगठन तथा आईएसकेपीले लिएको पाकिस्तानको दाबी छ।पाकिस्तानले ती समूहविरुद्ध ठोस कारबाही गर्न अफगान तालिबान सरकारलाई पटक–पटक आग्रह गरे पनि आवश्यक कदम नचालिएको आरोपसमेत लगाएको छ।यसैबीच इस्लामिक इमिरेट अफ अफगानिस्तानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले अफगान सीमाको उल्लंघन गरेको आरोप लगाएका छन्। उनले पाकिस्तानी आक्रमणबाट महिला र बालबालिकासहित दर्जनौँ सर्वसाधारण मारिएको तथा घाइते भएको दाबी गरेका छन्।

मुजाहिदद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हिजो राति पाकिस्तानी सेनाले नान्गारहार र पक्तिका प्रान्तमा हाम्रा निर्दोष नागरिकहरूमाथि बमबारी गरेको थियो, जसमा महिला र बालबालिकासहित दर्जनौँ मानिस मारिएका र घाइते भएका छन्।”दुवै पक्षका दाबी सार्वजनिक भएसँगै सीमाक्षेत्रमा तनाव बढ्ने संकेत देखिएको छ।