सरकार छोडेर चुनावमा गएका पूर्वमन्त्रीलाई दोष नलगाउन आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले सरकार छोडेर चुनावमा गएका पूर्वमन्त्रीलाई दोष नलगाउन आग्रह गरेकी छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भनिन् कि मन्त्री बनाउँदा नै छोड्न सक्ने गरी ल्याएको भएकाले उनीहरूलाई चुनावमा जाने निर्णयको दोष उनैमाथि नलगाउनुपर्छ। उनले भनिन्, “मैले नै हात जोडेर जति दिन बस्नुहुन्छ बसिदिनुस् भनेको हुँ। सरकारमा बसीबसी चुनाव लडेको भए बेइमानी भयो भन्न मिल्छ। दोष लाउनुहुन्छ भने मलाई लगाउनुस्, उनीहरूलाई नलगाउनुस्।”
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको दबाबका कारण केही व्यक्तिलाई मन्त्री बनाउनु परेको खुलाइन्। उनले भनिन्, “जेनजीको ठूलो प्रेसर थियो। जेनजीको मान्छे ल्याउन भनेको थियो। त्यतिवेला हामीले मान्नुपर्ने अवस्था थियो।” उनीहरूले मन्त्री छोडेर चुनाव लडेपछि अन्यथा लिने कुनै अवस्था नहुने कार्कीको भनाइ थियो।
उनले महावीर पुनको चुनावमा जाने योजना नभए पनि उनले रिस गरेर गएको सुनाइन्। कार्कीले भनिन्, “पुन त रिसाएर हिड्नु भएको हो। दुई-चार कानुन बनाउन खोजेको थियो। राम्रै कानुन थियो। तर, अहिलेको अवस्थामा कानून बनाएर सहयोग गर्न सकेनौँ।”
प्रधानमन्त्री कार्कीले मन्त्री छोडेर गएको पूर्वमन्त्रीसँग पछि कुनै सम्पर्क नभएको पनि बताइन्। “गएपछि टेलिफोनमा सम्पर्क पनि छैन। कुनै माग राखेको पनि छैन,” उनले राष्ट्रिय सभामा स्पष्ट पारिन्। सांसदहरूले मन्त्री छोडेर पार्टीमा गएको विषयमा प्रश्न गर्दा कार्कीले यस्तै प्रस्टीकरण दिएकी हुन्।
