संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको सालिक निर्माण गर्ने निर्णय
सरकारले निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको सालिक निर्माण गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सिंहदरबार परिसरको गुरुयोजना संशोधन गरी सालिक निर्माणको व्यवस्था गर्न स्वीकृति दिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार जेनजी आन्दोलनका शहीदहरूको सम्मान र स्मृतिलाई स्थायी रूपमा स्थापित गर्ने उद्देश्यले संसद् भवन परिसरमै सालिक बनाउने निर्णय गरिएको हो।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरेको थियो। ती घटनामा लोकतान्त्रिक अधिकार, सुशासन र परिवर्तनको माग गर्दै सडकमा उत्रिएका युवाहरूले बलिदान दिएको भन्दै सरकारले उनीहरूको योगदानलाई राष्ट्रिय रूपमा स्मरणीय बनाउने नीति लिएको हो।सरकारले संसद् परिसरलाई केवल प्रशासनिक र विधायिक गतिविधिको केन्द्र मात्र नभई ऐतिहासिक स्मृति र जनआन्दोलनका बलिदानको प्रतीकस्थलका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ। सालिक निर्माणसँगै जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा भावी पुस्तालाई लोकतान्त्रिक मूल्य र नागरिक संघर्षको इतिहास अवगत गराउने अपेक्षा गरिएको छ।
