गगन थापा पक्षलाई नेपाली कांग्रेसको आधिकारिक मान्यता
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा पक्षलाई नेपाली कांग्रेसको आधिकारिक मान्यता दिएसँगै पार्टीभित्र अबको यात्राबारे बहस चर्किएको छ। यही सन्दर्भमा कांग्रेसभित्र मध्यमार्गी भूमिकामा देखिँदै आएका नेता चन्द्र भण्डारीले पार्टी मिलेर जानुको विकल्प नभएको स्पष्ट पारेका छन्।भण्डारीका अनुसार कांग्रेसको इतिहास हेर्दा नेतृत्वबीच विभाजन हुँदा सधैं पार्टीलाई नै क्षति पुगेको छ। गिरिजा प्रसाद कोइराला र शेरबहादुर देउवाबीच तथा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच देखिएको विभाजन अन्ततः मिलनमै टुंगिएको स्मरण गराउँदै उनले अहिले पनि एकता अपरिहार्य रहेको बताए।उनले कांग्रेसभित्र जारी टकराव नमिलाए सबै शून्यमा पुग्ने चेतावनी दिए। “झगडा गरेर अघि बढ्ने हो भने अन्ततः सबै समाप्त हुन्छ,” उनको भनाइ छ। महाभारतको उदाहरण दिँदै भण्डारीले मौनता र गलत निर्णय दुवै विनाशकारी हुने बताए।गगन थापा नेतृत्वको वर्तमान परिस्थितिमा युवाहरूले अनुभवी नेतृत्वलाई सँगै लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए। “युवामा जोश छ, अनुभवमा परिपक्वता छ। यी दुईको संयोजनबिनाको राजनीति सफल हुँदैन,” भण्डारीले भने। उनका अनुसार अहिलेको पुस्ता केवल वर्तमान मात्र होइन, कांग्रेसको भविष्य पनि भएकाले उनीहरूले समन्वयकारी भूमिका खेल्नैपर्छ।आफ्नो भूमिकाबारे बोल्दै भण्डारीले आफू कुनै पद वा स्वार्थका लागि नभई देश, लोकतन्त्र र संविधानको रक्षाका लागि एकताको पक्षमा रहेको बताए। “म मिलाउने भूमिकामै छु, अब पनि रहन्छु,” उनले स्पष्ट पारे।उनले कांग्रेस मिलेन भने भारतीय कांग्रेसजस्तै कमजोर हुने खतरा औंल्याउँदै वर्तमान नेतृत्वले समयमै आत्मसमीक्षा गर्नुपर्ने बताए। अन्ततः, नमिलेर अघि बढ्ने कुनै विकल्प नरहेको निष्कर्ष उनले दोहोर्याए।
