इमान्दार मान्छे तर्साएर बेइमानले शासन गर्ने भाष्य नगर्न आग्रह
नेपाली कांग्रेसमा देखिएको महाधिवेशन विवादका बीच आइतबार भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन भयो । सभापति शेरबहादुर देउवा पक्षले पटक पटक रोक्न खोजेको भेलामा हस्ताक्षर गरेभन्दा निकै बढी प्रतिनिधि उपस्थित भए ।विशेष महाधिवेशन उद्घाटन समारोहमा दिइएको जानकारीअनुसार ६२ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित भएका थिए । तर त्यो आधिकारिक नभए पनि कम्तिमा पनि ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिले आइतबार नै हस्ताक्षर गरेको विशेष महाधिवेशन सचिवालयले जनाएको छ ।यता विशेष महाधिवेशन चलिरहेका बेला देउवा निवास महाराजगन्जमा संस्थापन समूहका नेताहरु जम्मा भएका थिए । छलफलमा सहभागी एक नेताले सोमबार बिहान शेरबहादुर दाइसँग कुनै विकल्प छैन । हामीले यस्तो होला भन्ने सोचेका पनि थिएनौँ ।”उनले अब के गर्ने भन्नेबारेमा पनि कुनै योजना नबनेको धारणा राखे ।“यस्तो हुन्छ भन्ने सोचेकै थिएनौँ,” उनले भने, “शेरबहादुर दाइले पनि केही सोचेको जस्तो लागेन । अवस्था अप्ठेरो आइलाग्यो ।”उनले विशेष महाधिवेशन पक्षधरले पनि यो नगरेको भए हुने र सभापतिले पनि यसरी अडान नराखेको भए हुने भनी टिप्पणी गरे ।कांग्रेस प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महतले पनि कुराकानीमा विशेष महाधिवेशन नगरी नियमित महाधिवेशन गर्ने भनी कार्यसम्पादन र केन्द्रीय समितिले निर्णय गरेको बताए ।“अहिले विवाद निम्त्याउने समय होइन,” उनले भने, “कांग्रेस एकढिक्का भएर जानुपर्ने समय छ ।”आइतबार देउवा निवासमा भेला भएका अर्का नेताले विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन गरेर जाने विषयमा पनि सामान्य छलफल भएको बताउँदै त्यसो नगर्न अनौपचारिक माध्यमबाट अनुरोध गर्ने निष्कर्ष निकालेका थिए ।उनका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र पूर्वमन्त्री रमेश लेखक अनौपचारिक छलफलमा छन् ।तर कुनै ठोस निष्कर्ष निकालेको छैन ।यहाँ विकल्प भनेको अब कि सभापतिज्यू नै अब तपाईंहरु नै हो भनेर गएर मानिदिनुपर्यो,” उनले भने, “नभए विशेष महाधिवेशन पक्षधरहरु पनि छलफलका लागि तयार भएको देखिएन ।”विशेष महाधिवेशनको बन्दसत्रको सभापतित्व ग्रहण गर्न लागेका ज्येष्ठ सदस्य ओमकार श्रेष्ठले पार्टी विभाजनको भाष्य कुनै नौलो नभएको बताउँदै इमान्दार मान्छेलाई तर्साउने बहानामात्रै भएको बताए ।हामीले पनि यतिधेरै प्रतिनिधि उपस्थित हुनुहोला भन्ने सोचेकै थिएनौँ,” उनले भने, “अहिले हेर्दा त ७० प्रतिशत पुग्लाजस्तो भइसक्यो । पार्टी विभाजन हुन सक्छ भनेर संस्थापनले चलाएको भाष्य नयाँ होइन । इमान्दार मान्छे तर्साएर बेइमानले शासन गर्ने भाष्य हो यो ।”
