युक्रेनका लागि युरोपेली देशहरूको नेतृत्वमा बहुराष्ट्रिय सुरक्षा बल गठन गर्ने

Spread the love

बेलायत र फ्रान्सले युक्रेनमा शान्ति सम्झौता भए त्यसको सुरक्षा सुनिश्चित गर्न आफ्ना सेना तैनाथ गर्ने भएका छन्। बेलायती प्रधानमन्त्री कियर स्टार्मरले शान्ति सम्झौतापछि रूसलाई भविष्यमा आक्रमण गर्नबाट रोक्न यो कदम चाल्न लागिएको बताएका छन्। उनका अनुसार बेलायत र फ्रान्सले युक्रेनी भूमिमै सैन्य केन्द्र (हब) स्थापना गर्नेछन् र हतियार तथा सैन्य सामग्री सुरक्षित रूपमा राख्न संरक्षित पूर्वाधार निर्माण गरिनेछ, जसले कीभलाई आत्मरक्षामा सहयोग पुर्‍याउनेछ।पेरिसमा आयोजित एक कार्यक्रममा कियर स्टार्मर, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन्। यस घोषणापत्रले युद्धविरामपछि युक्रेनमा बेलायती र फ्रान्सेली सेना तैनाथ गर्ने बाटो खोलेको छ।यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफले अमेरिकाले युक्रेनका लागि प्रस्तावित सुरक्षा ग्यारेन्टीलाई समर्थन गर्न सहमति जनाइसकेको जानकारी दिएका छन्। उनका अनुसार शान्ति सम्झौता उल्लंघन भए रूसको आक्रमण रोक्न र आवश्यक परे युक्रेनको प्रतिरक्षा गर्न अमेरिका तयार हुनेछ।शान्ति कायम राख्ने योजनाअन्तर्गत युक्रेनका लागि युरोपेली देशहरूको नेतृत्वमा बहुराष्ट्रिय सुरक्षा बल गठन गर्ने प्रस्ताव गरिएको छ। यसमा गैर–युरोपेली देशहरूको सहभागिता पनि सम्भावित छ र अमेरिकाले समर्थन भूमिका खेल्नेछ। योजनामा अमेरिकी नेतृत्वमा युद्धविराम अनुगमन, युक्रेनी सेनालाई दीर्घकालीन सहयोग तथा भविष्यमा रूसबाट हुने कुनै पनि आक्रमणको सामना गर्न युक्रेनलाई सहयोग गर्ने व्यवस्था समावेश छ।प्रधानमन्त्री स्टार्मरले युरोपेली र अमेरिकी सहयोगीहरू राष्ट्रपति जेलेन्स्कीसँग काँधमा काँध मिलाएर शान्तिका पक्षमा उभिएको बताए। उनले भने, “हामी शान्तिको लक्ष्यमा अहिलेसम्मकै सबैभन्दा नजिक छौँ, तर सबैभन्दा कठिन चरण अझै बाँकी छ।”

स्टार्मरले शान्ति सम्झौता सम्भव हुन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध उन्माद अन्त्य गर्नुपर्ने पनि स्पष्ट पारे। पछिल्ला हप्ताहरूमा रूसले युक्रेनमा अस्पतालसहितका नागरिक पूर्वाधारमा आक्रमण बढाएको र कठ्याङ्ग्रिने जाडोमा लाखौँ मानिसलाई अन्धकारमा धकेलेको उनको आरोप छ। यस्ता घटनाले शान्ति प्रयासप्रति पश्चिमी मुलुकहरूको दृढता झनै बढेको उनले बताए।यो घोषणा पेरिसमा फ्रान्सका राष्ट्रपति म्याक्रोँको आतिथ्यमा बसेको ‘कोएलिसन अफ द विलिङ’ देशहरूको बैठकपछि आएको हो। बैठकअघि अमेरिकी दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरले एलिसे दरबारमा राष्ट्रपति म्याक्रोँसँग छलफल गरेका थिए।युक्रेन र उसका सहयोगीहरूका लागि यो ठूलो कूटनीतिक प्रगति मानिएको छ, किनकि यसअघि अमेरिकाबाट स्पष्ट सुरक्षा ग्यारेन्टी पाउन कठिन भइरहेको थियो। भेनेजुएलामा ट्रम्प प्रशासनले गरेको सैन्य कारबाहीपछि अमेरिकाको युक्रेनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठिरहेका थिए।तर विटकफले अमेरिकाको अडान स्पष्ट रहेको बताए। “यी सुरक्षा प्रोटोकल युक्रेनमा कुनै पनि आक्रमण रोक्न र यदि आक्रमण भए प्रतिरक्षा गर्नका लागि हुन्। राष्ट्रपति आफ्ना प्रतिबद्धताबाट पछि हट्नुहुन्न,” उनले भने।जेरेड कुश्नरले पनि ट्रम्प प्रशासन दुबै पक्षले तनाव घटाउने खालको सम्झौता चाहेको बताए। उनका अनुसार कडा प्रतिरोध क्षमताले ‘शक्ति मार्फत शान्ति’ सुनिश्चित गर्छ, जसले भविष्यमा पुनः युद्ध सुरु हुने सम्भावना न्यून बनाउँछ।युरोपेली देशहरूबीच आज हासिल भएको सहमतिलाई युक्रेनमा दिगो शान्तितर्फको ठूलो कोसेढुंगा मानिएको छ।