देशको सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको रक्षा गर्न हतियार उठाउन तयार -राष्ट्रपति पेट्रो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाविरुद्ध सैन्य कारबाहीको चेतावनी दिएपछि त्यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले कडा प्रतिक्रिया जनाएका छन्। पेट्रोले आफ्नो देशको सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको रक्षा गर्न आवश्यक परे आफू पुनः हतियार उठाउन तयार रहेको स्पष्ट पारेका छन्। ट्रम्पको अभिव्यक्तिले अमेरिका–कोलम्बिया सम्बन्धमा नयाँ तनाव सिर्जना भएको संकेत देखिएको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार ट्रम्पले कोलम्बियाली सरकारमाथि अमेरिकातर्फ लागूऔषध तस्करी बढाउन सहयोग गरेको आरोप लगाउँदै सैन्य कारबाहीको सम्भावना औँल्याएका थिए। उनले कोलम्बियालाई ‘विश्वको कोकिन कारखाना’ को संज्ञा दिँदै राष्ट्रपति पेट्रो लामो समयसम्म सत्तामा रहन नदिइने जस्ता अभिव्यक्ति दिएका थिए।यसप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति पेट्रोले सामाजिक सञ्जालमार्फत ट्रम्पको भनाइको आधिकारिक अनुवाद र पुष्टि नहुँदासम्म प्रत्यक्ष जवाफ नदिने बताए पनि आफूलाई ‘अवैध शासक’ र ‘लागूऔषध तस्कर’ भनिएको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले लेखेका छन्, “मैले फेरि कहिल्यै हतियार नछुने कसम खाएको थिएँ, तर मातृभूमिको रक्षाका लागि म पुनः हतियार उठाउन तयार छु।”पूर्व विद्रोही लडाकु समेत रहेका पेट्रो सन् २०२२ मा कोलम्बियाको राष्ट्रपति निर्वाचित भएका थिए। उनको भनाइले कोलम्बियाले बाह्य दबाब र सम्भावित हस्तक्षेपलाई कडा रूपमा प्रतिरोध गर्ने सन्देश दिएको विश्लेषकहरू बताउँछन्। यसले देशभित्र राष्ट्रवादी भावना बलियो बनाउने सम्भावना पनि देखिएको छ।ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा दक्षिण अमेरिकी देशहरूबाट हुने लागूऔषध ओसारपसार रोक्न कडा कदम चाल्ने घोषणा गर्दै आएका छन्। सोही रणनीतिको निरन्तरता स्वरूप कोलम्बिया, मेक्सिको लगायत देशहरूलाई लक्षित गर्दै उनी आक्रामक अभिव्यक्ति दिइरहेका छन्। तर यस्ता धम्कीपूर्ण भाष्यले क्षेत्रीय कूटनीति थप जटिल बन्ने र तनाव बढ्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरिरहेको छ।विश्लेषकहरूका अनुसार ट्रम्पको कडा रणनीति र पेट्रोको प्रतिकारात्मक अभिव्यक्तिले अमेरिका–कोलम्बिया सम्बन्ध मात्र होइन, समग्र दक्षिण अमेरिकी राजनीतिक सन्तुलनमा पनि असर पार्न सक्छ। आगामी दिनमा दुवै देशबीच कूटनीतिक संवाद अघि बढ्छ कि टकराव चर्किन्छ भन्ने विषय विश्व समुदायको चासोको केन्द्रमा रहने देखिन्छ। एजेन्सि
