विभागीय सहसचिवहरूकाे जिम्मेवारी फेरबदल
अर्थ मन्त्रालय मातहत रहेका दर्जनभन्दा बढी सहसचिवहरूको जिम्मेवारी फेरबदल गरिएको छ। भन्सार विभाग, ठूला करदाता कार्यालयदेखि लिएर विभिन्न महाशाखा र प्रमुख कार्यालयमा सहसचिवहरूको जिम्मेवारी पुनः निर्धारण गरिएको हो।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। यसअघि भन्सार विभाग महानिर्देशक रहेका महेश भट्टराईलाई आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा गरिएको छ। भन्सार विभागको महानिर्देशकमा श्यामप्रसाद भण्डारीलाई जिम्मेवारी तोकिएको छ।
त्यस्तै, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको प्रमुखमा टंकप्रसाद पाण्डे खटाइएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको प्रमुखमा टंकनाथ लम्साल पठाइएका छन् भने भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ।
दीपक लामिछाने उपमहालेखा नियन्त्रकको जिम्मेवारीमा पुगेका छन् भने रमेश अर्याललाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक तोकिएको छ। भन्सार बिभागका जनकराज शर्मालाई समेत उपमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको प्रमुखमा रहेका दीलिपकुमार गौतमलाई ठूला करदाता कार्यालयमा प्रमुख कर प्रशासक बनेका छन् भने पदमकुमार श्रेष्ठलाई मध्यमस्तरीय करदाता कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ। यस्तै, वीरगञ्ज भन्सार कार्यालय प्रमुख भन्सार प्रशासकमा विष्णुप्रसाद ज्ञवाली खटाइएका छन्।
नयाँ जिम्मेवारी पाएका अधिकारीहरू मध्ये धेरैलाई आफ्नो अघिल्लो कार्यक्षेत्रमा पाँच महिना पनि नपुग्दै फेरबदल गरिएको हो। यसले मन्त्रालयभित्रको निर्णयप्रति प्रश्न उठाएको छ। खासगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक कुमार दाहालको हालैको सरुवामाथि उठेको प्रश्नकै बीचमा अर्थ मन्त्रालयले गरेको यो व्यापक फेरबदलले अझै धेरै आशंका जन्माएको देखिन्छ।
