नक्कली नोटको धन्दा

Spread the love

नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाख रूपैयाँभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मंसिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए।

‘प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार मंसिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन्। गत मंसिरमा तीन जना पक्राउ परेका थिए,’ उनले भने। 

उनीहरूको साथबाट एक हजार दरको २६ हजार रूपैयाँ र पाँच सय दरको चार हजार पाँच सय रूपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

साथै पुसमा १७ पक्राउ परेका थिए। उनीहरूको साथबाट एक हजार दरको पाँच लाख ३६ हजार रूपैयाँ बरामद गरिएको थियो। पुसमा पाँच सय, सय र ५० दरका पनि नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ। माघमा एक हजार दरको चार लाख ४४ हजार रूपैयाँ नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

काठमाडौंको कालोपुलबाट यही चैत १ गते नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीहरूको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ लाख ३६ हजार रूपैयाँ नक्कली नोट बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौं बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुंगल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।