नेपालले अघि सारेका सबै प्रस्ताव भ्रमणकै क्रममा सहमतिमा पुग्ने निश्चित नभएको स्रोतहरूकाे भनाई
नेपालले सहुलियतपूर्ण ऋण अमेरिकी डलरको सट्टा भारतीय रूपैयाँमा उपलब्ध गराउन आग्रह गरेको छ। नेपाली र भारतीय रूपैयाँबीच स्थिर विनिमय दर रहेकाले यसबाट विदेशी मुद्रा विनिमयको जोखिम कम हुने नेपालको अपेक्षा छ। जलविद्युत् आयोजना र विद्युत् प्रसारण लाइन निर्माणमा उक्त ऋण उपयोग गर्ने प्रस्ताव छ।प्रधानमन्त्री बालेन शाहको आगामी भारत भ्रमणका क्रममा नेपालले भारतसँग दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता माग्ने तयारी गरेको छ। प्रस्तावअनुसार एक अर्ब डलर अनुदान र एक अर्ब डलर सहुलियतपूर्ण ऋण मागिनेछ। अनुदानमध्ये ५० करोड डलर बुटवल–पोखरा द्रुतमार्ग निर्माण र बाँकी ५० करोड डलर बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा खर्च गर्ने नेपालको योजना छ
भ्रमणका अन्य प्रमुख एजेन्डामा जनकपुर–अयोध्या रेल सेवा, जनकपुर–बर्दिबास–निजगढ तथा रक्सौल–वीरगन्ज–निजगढ रेलमार्ग विस्तार, पोखरा र भैरहवाका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई प्रवेशमार्ग र नेपालका विभिन्न सहरबाट भारतका सहरसम्म सीधा उडान सञ्चालन रहेका छन्।
त्यस्तै, नेपाल–भारत वाणिज्य सन्धि पुनरवलोकन, गुजरात र उडिसाका थप बन्दरगाह प्रयोग गर्ने सुविधा, मोतीहारीदेखि सर्लाहीसम्म ग्यास पाइपलाइन निर्माण तथा भारतका प्रतिष्ठित IIT र IIM का शाखा नेपालमा स्थापना गर्ने प्रस्ताव पनि अघि सारिएको छ। एआई प्रविधि र क्रिकेट विकासमा सहकार्य गर्ने विषयसमेत छलफलमा छन्।
प्रधानमन्त्री शाहको भारत भ्रमण नोभेम्बर २३ देखि २५ अर्थात् मंसिर ७ देखि ९ सम्म गर्ने तयारी छ। यद्यपि, दुवै देशले औपचारिक मिति सार्वजनिक गरेका छैनन्। नेपालले अघि सारेका सबै प्रस्ताव भ्रमणकै क्रममा सहमतिमा पुग्ने निश्चित नभएको स्रोतहरूले बताएका छन्।
