आज सोमवारे औँसी गाईपूजा र स्नानदानको विशेष दिन
सुरेस कुमार थपलिया
काठमाडौं, २३ कात्तिक। आज सोमबार, २०८३ कात्तिक २३ गते सोमवारे औँसी परेको छ। हिन्दू धर्मावलम्बीहरूले विशेष धार्मिक महत्वका साथ मनाउने यस दिनलाई स्नान, दान, जप तथा पितृस्मरणका लागि महत्वपूर्ण मानिन्छ।
आज बिहानदेखि नै नदी, तलाउ तथा जलाशयमा स्नान गरी पूजा–आराधना गर्ने परम्परा रहेको छ। सोमबार र औँसी तिथि एकै दिन परेकाले यस दिनलाई सोमवारे औँसी भनिएको हो।
पञ्चाङ्गअनुसार आज दिउँसो १२ बजेर ५० मिनेटसम्म औँसी तिथि रहनेछ। त्यसपछि शुक्ल पक्षको प्रतिपदा सुरु हुनेछ। आज स्वाती नक्षत्रपछि विशाखा नक्षत्र रहनेछ।
सोमवारे औँसीका अवसरमा भगवान् शिवको पूजा, पितृहरूको सम्झना, दान तथा धार्मिक कार्य गर्ने प्रचलन छ। आज गाईपूजा पनि मनाइँदैछ। हिन्दू संस्कृतिमा गाईलाई माता तथा धार्मिक आस्थाको प्रतीकका रूपमा सम्मान गर्ने गरिन्छ।
धार्मिक मान्यताअनुसार आजको दिन श्रद्धा, भक्ति र सेवाभावका साथ धार्मिक कार्य गर्दा पुण्य प्राप्त हुने विश्वास गरिन्छ।
आजको दिनले धार्मिक आस्था, पारिवारिक सद्भाव र सांस्कृतिक परम्पराको संरक्षणमा विशेष महत्व राखेको छ।
