झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार
सुरेस कुमार थपलिया
काठमाडौं, कात्तिक ४। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थामा क्रमशः सुधार आएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका खनालको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको उनको सचिवालयले जनाएको छ।
सचिवालयका सदस्य मिलन उपाध्यायका अनुसार खनालको स्वास्थ्य परीक्षणका नतिजा सामान्य देखिएका छन्। स्वास्थ्यमा सुधार आए पनि चिकित्सकको सल्लाहअनुसार उनलाई थप निगरानीमा अस्पतालमै राखिएको थियो।
चिकित्सकको सल्लाहअनुसार अवस्था सामान्य रहेमा बुधबार साँझसम्म अस्पतालबाट डिस्चार्ज गरी घर लैजान सकिने सचिवालयले जनाएको छ।
खनालको स्वास्थ्यमा समस्या देखिएपछि नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि उनको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगेका थिए।
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार आएको खबरसँगै उनका शुभेच्छुक तथा पार्टीका नेता–कार्यकर्ताले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
