समाचार

दसैंमा यात्रुको सहजताका लागि प्रहरीको निःशुल्क बस सेवा तीन रुटमा सञ्चालन

Spread the love

टिकाराम भन्डारि
काठमाडौं, कात्तिक ३ । दसैंका बेला सार्वजनिक यातायातमा हुने यात्रुको चाप र सवारीसाधनको अभावलाई मध्यनजर गर्दै नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।नेपाल प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सञ्चालनमा ल्याएको हो । यस सेवाबाट दसैंका बेला आवतजावत गर्न कठिनाइ भोगिरहेका यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
प्रहरीका अनुसार कात्तिक ३ गते सोमबार दिउँसो ४ बजेदेखि बस सञ्चालन हुनेछ । कात्तिक ४ गते भने बिहान ८ बजे र दिउँसो ३:३० बजेदेखि बस सेवा उपलब्ध हुनेछ ।
तीनवटा रुटमा बस सञ्चालन
रुट नम्बर १: नक्सालबाट सुरु हुने बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल पुग्नेछ ।
रुट नम्बर २: नक्सालबाट सुरु हुने बस रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक, कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल फर्किनेछ ।
रुट नम्बर ३: नक्सालबाट सुरु हुने बस सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगञ्ज हुँदै पुनः नक्साल पुग्नेछ ।
दसैंका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने र सवारीसाधन पाउन कठिन हुने भएकाले प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।
निःशुल्क बस सेवाले चाडपर्वका बेला यात्रुको सुविधासँगै सार्वजनिक सेवाप्रतिको विश्वास बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।