प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा

Spread the love

काठमाडौँ — जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा पक्राउ परेका काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ।

मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौँमा राखी अनुसन्धान अधिकृतहरूले जेनजी प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा किशोरहरूको ज्यान गएको घटनाबारे विस्तृत सोधपुछ गरेका थिए।प्रहरी स्रोतका अनुसार उनलाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा छोड्ने निर्णय गरिएको हो।

जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन सीडीओ रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। भदौ २३ र २४ गते भएको प्रदर्शनका समयमा उनी काठमाडौँका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए।बानेश्वर क्षेत्रमा भएको घटनामा घातक गोली चलाउन आदेश दिएको आरोपमा रिजालको आलोचना हुँदै आएको छ। तर आयोगसमक्ष दिएको बयानमा उनले त्यस्तो आदेश आफूले नदिएको दाबी गरेका छन्।उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै यसअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि नियन्त्रणमा लिइसकिएको छ।