नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फरेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।
स्वास्थ्य अवस्थाका कारण उनलाई भौतिक रूपमा अदालतमा उपस्थित गराउन नसकिने भएपछि यस्तो विकल्प अपनाउन लागिएको हो।शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओली हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना छन्। चिकित्सकहरूले उनलाई अस्पतालमै राखेर निगरानीमा राख्नुपर्ने सुझाव दिएपछि अदालतमा उपस्थित गराउने प्रक्रिया पनि सोहीअनुसार मिलाउन लागिएको स्रोतले जनाएको छ।सरकारी वकिल कार्यालयले भिडियो कन्फरेन्सिङमार्फत ओलीलाई अदालतमा उपस्थित गराउने तयारी थालेको छ। पूर्वमहान्यायाधिवक्ता रमेश बडालले पनि स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट पेश गरिने बताएका छन्।
यसैबीच, शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा भौतिक रूपमा उपस्थित गराइसकिएको छ।ओली र लेखकलाई भदौ २३ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरिएको हो।उनीहरूको पक्राउविरुद्ध भइरहेको प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौँ जिल्ला अदालत र जिल्ला प्रहरी परिसर आसपासका क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
