वर्षअघि उद्घाटन गरेको जिल्ला प्रहरी परिसर काठमाडौंकै हिरासतमा पुगे
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाल आफूहरूले एक वर्षअघि उद्घाटन गरेको जिल्ला प्रहरी परिसर काठमाडौंकै हिरासतमा पुगेका छन्।
वि.सं. २०८१ साल भदौ १० गते ओली र लेखकले संयुक्त रूपमा उक्त प्रहरी परिसर भवन उद्घाटन गरेका थिए। तर, अहिले भने दुवै नेता सोही परिसरको हिरासतमा राखिएका छन्, जसले राजनीतिक रूपमा चासो र चर्चा बढाएको छ।जेन–जी आन्दोलनका क्रममा भएको हिंसा तथा हताहत घटनाको छानबिनपछि दुवै नेतालाई शनिबार बिहान पक्राउ गरिएको हो। सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगको सिफारिस कार्यान्वयन गर्दै कारबाही अघि बढाएको जनाएको छ।यसैबीच, पक्राउपछि स्वास्थ्य परीक्षणका क्रममा पूर्वप्रधानमन्त्री ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ। दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीमा ‘मल्टिपल हेल्थ इश्यू’ देखिन सक्ने जोखिमका कारण उनलाई अस्पतालको ५०१ नम्बर बेडमा राखिएको अस्पताल स्रोतले जनाएको छ।प्रारम्भिक स्वास्थ्य परीक्षणमा उनलाई छाती दुख्ने (चेस्ट पेन) र मुटुको धड्कन (पाल्पिटेशन) सम्बन्धी समस्या देखिएको छ। हाल उनलाई इसीजी मनिटरमा राखी मुटुको चालको निगरानी भइरहेको छ भने मिर्गौला सम्बन्धी चिकित्सकहरूको टोलीले समेत स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ।प्रहरीले ओलीलाई अदालतमा म्याद थपका लागि आइतबार मात्र उपस्थित गराउने तयारी गरेको छ। त्यसअघि उनलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राख्ने तयारी गरिएको थियो।उक्त घटनाक्रमले एकैसाथ राजनीति, कानुनी प्रक्रिया र स्वास्थ्य अवस्थाबीचको जटिलता देखाएको विश्लेषण गरिएको छ।
