तारिक रहमान नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टीकाे स्पष्ट बहुमत
लामो राजनीतिक अस्थिरता, विद्यार्थी आन्दोलन र अन्तरिम शासनको चरण पार गर्दै बंगलादेश पुनः निर्वाचनमार्फत संवैधानिक मार्गमा फर्किएको छ। सन् २०२४ मा आरक्षण विवादबाट सुरु भएको विद्यार्थी आन्दोलन हिंसात्मक बन्दै गएपछि शेख हसिना नेतृत्वको सरकार ढलेको थियो। त्यसयता करिब डेढ वर्ष देश मोहम्मद युनुसको अन्तरिम प्रशासनअन्तर्गत सञ्चालन भयो।२९ माघमा सम्पन्न १३औँ आमनिर्वाचनलाई केवल सरकार गठनको प्रक्रिया मात्र नभई आन्दोलनपछिको जनमत परीक्षणका रूपमा हेरिएको थियो। यो निर्वाचन विगत ३५ वर्षयताकै पहिलो यस्तो प्रतिस्पर्धा थियो, जहाँ शेख हसिना र खालिदा जियाजस्ता प्रभावशाली व्यक्तित्व प्रत्यक्ष रूपमा चुनावी मैदानमा थिएनन्।अवामी लिगलाई प्रतिबन्ध लगाएर सम्पन्न निर्वाचनमा तारिक रहमान नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत प्राप्त गरेको छ। सन् २००१ यता सत्ताबाहिर रहेको बीएनपी २० वर्षपछि पुनः सरकारमा फर्किएको हो। यससँगै बंगलादेशले ३५ वर्षपछि पुरुष प्रधानमन्त्री पाउने भएको छ।
बीएनपीको ऐतिहासिक पृष्ठभूमि सन् १९७५ को राजनीतिक उथलपुथलसँग जोडिन्छ। शेख मुजिबुर रहमानको हत्यापछि जियाउर रहमानले आफ्नो शासनलाई वैधता दिन गठन गरेको यो दल पछि खालिदा जियाको नेतृत्वमा अघि बढ्यो। खालिदाको ३० डिसेम्बर २०२५ मा निधन भएपछि नेतृत्व तारिक रहमानले सम्हाल्दै आएका छन्।विद्यार्थी आन्दोलनको लहरमा नाहिद इस्लामले स्थापना गरेको नेसनल सिटिजन पार्टी (एनसीपी) ले प्रारम्भिक चरणमा ठूलो जनसमर्थन पाउने अनुमान गरिएको थियो। तर, निर्वाचन परिणामले आन्दोलनको लोकप्रियता मात्र पर्याप्त नहुने सन्देश दिएको छ। एनसीपीले अपेक्षित सफलता हासिल गर्न सकेन।बंगलादेशी राजनीतिमा परम्परागत रूपमा तीन धार देखिन्छन्—
पहिलो, उदारवादी शक्ति, जसको प्रतिनिधित्व अवामी लिगले गर्दै आएको थियो। पाकिस्तानबाट अलग भई बंगलादेश स्थापना गर्ने आन्दोलन यही धारको नेतृत्वमा भएको थियो।
दोस्रो, स्वतन्त्रताको पक्षमा उभिए पनि अपेक्षाकृत अनुदार मानिने बीएनपी।तेस्रो, स्वतन्त्रताको विपक्षमा उभिएको कट्टर इस्लामिक शक्ति जमात–ए–इस्लामी।यस निर्वाचन परिणामले कट्टरपन्थी र पपुलिस्ट एजेन्डालाई मतदाताले अस्वीकार गरेको विश्लेषण भइरहेको छ। अवामी लिग अनुपस्थित हुँदा पनि मतदाताले जमात–ए–इस्लामी नेतृत्वको धारलाई सत्तासम्म पुग्न दिएनन्।तारिक रहमान भने विवादरहित छैनन्। खालिदा जियाको कार्यकाल (२००१–२००६) मा भ्रष्टाचार आरोप खेपेका उनी सन् २००७ मा १८ महिना जेल बसेपछि उपचारको बहानामा १७ वर्ष लन्डनमा बसेर फर्किएका हुन्। त्यसैले उनको नेतृत्वमा सुशासन कति प्रभावकारी हुन्छ भन्नेबारे प्रश्न उठिरहेका छन्।शेख हसिनाले भारतबाट निर्वाचन परिणामलाई असंवैधानिक र फर्जी भन्दै अस्वीकार गरेकी छन्। मोहम्मद युनुसको नेतृत्वमा भएको अन्तरिम व्यवस्थालाई उनले गैरकानुनी करार दिएकी छन्। यद्यपि, अवामी लिग प्रतिबन्धित भए पनि देशभित्र अझै प्रभावशाली शक्ति मानिन्छ।सन् १९७१ को स्वतन्त्रतादेखि नै राजनीतिक अस्थिरता, सैनिक हस्तक्षेप र नेतृत्वबीचको टकरावले बंगलादेशी राजनीति प्रभावित हुँदै आएको छ। नयाँ परिणामले सत्ताको समीकरण बदलिए पनि दीर्घकालीन स्थायित्व सुनिश्चित हुने ग्यारेन्टी भने अझै देखिएको छैन।
