अयातोल्लाह अली खामेनीले स्थिति नियन्त्रणबाहिर गए देश छाड्ने
देशभर फैलिएको विरोध प्रदर्शन जारी रहँदा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले स्थिति नियन्त्रणबाहिर गए देश छाड्ने योजना बनाएको दाबी सार्वजनिक भएको छ। प्रदर्शनलाई थाम्न नसकिएमा खामेनी विदेश प्रस्थान गर्न सक्ने उल्लेखसहितको रिपोर्ट बाहिर आएको हो।बेलायतको पत्रिका ‘द टाइम्स’ले प्राप्त गरेको एक गोप्य गुप्तचर प्रतिवेदनलाई उद्धृत गर्दै यस्तो दाबी गरेको छ। प्रतिवेदनअनुसार ८६ वर्षीय खामेनी आफ्ना छोरा तथा सम्भावित उत्तराधिकारी मोज्तबासहित करिब २० जनाको सानो टोलीका साथ राजधानी तेहरान छाड्न सक्छन्, र सम्भावित गन्तव्य रुस हुनसक्ने संकेत गरिएको छ।इरानमा पछिल्ला आठ दिनदेखि खामेनीविरुद्ध केन्द्रित प्रदर्शन निरन्तर भइरहेको छ। मानव अधिकारकर्मीहरूको तथ्यांकअनुसार हालसम्म ७८ सहरका २२२ भन्दा बढी स्थानमा प्रदर्शन भइसकेका छन्। ती घटनाक्रममा कम्तीमा ३५ जनाको ज्यान गएको छ भने १ हजार २०० भन्दा बढी व्यक्ति हिरासतमा परेका छन्।बढ्दो महँगी र कमजोर बन्दै गएको आर्थिक अवस्थाको विरोधमा नागरिकहरू सडकमा उत्रिएको बताइन्छ। प्रदर्शनका क्रममा विभिन्न स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपसमेत भइरहेका छन्।
