सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ
काठमाडौँ महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन्। सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याएको आरोपमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई मंगलबार अपराह्न नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापका ३९ वर्षीय विज्ञान राई, काठमाडौँका ३१ वर्षीय सञ्जय राजवाहक र ३६ वर्षीय विमल तामाङ, रामेछापका ३५ वर्षीय रमेश कार्की, धादिङकी ३६ वर्षीया कल्पना लम्साल र नुवाकोटका ३९ वर्षीय उद्धव खनाल रहेका छन्।उनीहरूले सेवाग्राहीलाई छिटो काम गरिदिने प्रलोभन देखाएर बिचौलियाको रूपमा अवैध रूपमा रकम असुली गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउका क्रममा उनीहरूबाट एक लाख २२ हजार रुपैयाँ नगद र ५३ थान बिलबुकसमेत बरामद गरिएको छ।प्रहरीले सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने तथा सेवाग्राही ठग्ने यस्ता गतिविधिविरुद्ध कडाइ गर्ने बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
