तीन पूर्वप्रधानमन्त्री उनीहरूका परिवारको सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु
तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री तथा उनीहरूका परिवारको सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीले उच्च राजनीतिक नेतृत्वमाथि छानबिन अघि बढाएको हो।प्रहरी स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथै पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेका चल–अचल सम्पत्ति, आम्दानीको स्रोत र आर्थिक कारोबारबारे अनुसन्धान भइरहेको छ। यससँगै आरजु राणाका भाइ भुषण राणामाथि पनि अनुसन्धान अघि बढाइएको छ।यसैक्रममा आइतबार बिहान कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनका आधारमा उनलाई नियन्त्रणमा लिएको हो।
विभागले प्रारम्भिक अनुसन्धानमा कैफियत देखिएपछि सम्बन्धित व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई पत्र पठाएको जनाएको छ। सोही आधारमा सीआईबीले खड्कालाई जरुरी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिएको हो भने उनलाई जिल्ला अदालतमा पेश गरी म्याद थप गर्ने तयारी गरिएको छ।गत भदौ २४ गते भएको आगजनीका घटनामा पूर्वप्रधानमन्त्री देउवा, दाहाल र खड्काका घरबाट जलेका नोटका टुक्रा भेटिएको घटनाले अनुसन्धानलाई थप गम्भीर बनाएको छ। त्यसपछि विभागले विस्तृत अनुसन्धानका लागि सीआईबीलाई जिम्मेवारी दिएको हो।प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअनुसार सम्पत्ति स्रोतको वैधता, आर्थिक गतिविधि र संलग्न व्यक्तिहरूको भूमिकाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।यस घटनाले देशको राजनीतिक वृत्तमा ठूलो तरंग सिर्जना गरेको छ भने उच्च तहका नेतामाथि अनुसन्धान सुरु भएसँगै आगामी दिनमा थप कानुनी प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ।
