अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन खारेज गर्ने प्रस्ताव
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्ने प्रस्ताव सार्वजनिक गरेका छन्।सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक प्राथमिकता सार्वजनिक गर्दै उनले राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र र वैदेशिक हस्तक्षेपमुक्त नीतिलाई केन्द्रमा राख्ने स्पष्ट पारेका छन्।राईले विशेष गरी एमसीसीजस्ता वैदेशिक सहायता परियोजनाहरूलाई अन्त्य गर्दै देशभित्रै स्रोत–साधन परिचालन गर्नुपर्ने धारणा अघि सारेका छन्।उनका अनुसार शिक्षा प्रणालीमा पनि परिवर्तन आवश्यक रहेको छ। सैद्धान्तिक ज्ञानमा सीमित नभई व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रणाली विकास गर्नुपर्ने उनको जोड छ।
त्यस्तै, सीमावर्ती क्षेत्रको सुरक्षा सुदृढ गर्दै त्यहाँका नागरिकको जीवनस्तर उकास्ने विकास कार्यक्रमलाई प्राथमिकता दिने उनले उल्लेख गरेका छन्।राईले आफ्नो प्रस्तावमा आर्थिक रूपान्तरणका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने अवधारणा पनि अघि सारेका छन्। यसले स्वदेशमै रोजगारी सिर्जना गर्ने र आयातमा निर्भरता घटाउने लक्ष्य राखिएको उनको भनाइ छ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, “पहिलो सदनमा हाम्रो प्रस्ताव एमसीसी खारेज, शिक्षामा तात्त्विक परिवर्तन, सीमा रक्षा र सीमावर्ती क्षेत्रमा केन्द्रित विकास, आर्थिक विकास र एक पालिका एक उद्योग आदि…”श्रम संस्कृति पार्टीले यसमार्फत आफ्नो राजनीतिक उपस्थिति सशक्त बनाउने र वैकल्पिक विकास मोडेल प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ।
