गण्डकी प्रदेशकै कान्छा उम्मेदवार २६ वर्षीय मनिष खनालले २५ हजार ५ सय ९२ मतान्तरसहित जित
नेपालको संसदीय इतिहासमा दुर्लभ युवामध्येका एक मनिष खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट उनी संसद प्रवेश गर्ने भएका हुन्। गण्डकी प्रदेशकै कान्छा उम्मेदवारका रूपमा चर्चामा रहेका २६ वर्षीय खनालले २५ हजार ५ सय ९२ मतान्तरसहित जित हासिल गरेका छन्। उनले ४१ हजार ३ सय ४७ मत प्राप्त गर्दा नेकपा (एमाले) का तिलक महत ले १५ हजार ७ सय ५५ मत पाए।
नेपाली कांग्रेसका ओमबहादुर घर्ती १४ हजार ७ सय १३ मतमा सीमित भए। यस निर्वाचन क्षेत्रबाट अघिल्लो निर्वाचनमा कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका थिए भने २०७४ मा एमालेका तिलक महत निर्वाचित भएका थिए। नवलपुर–२ मा लामो समयदेखि एमाले र कांग्रेसबीच आलोपालो जित हुँदै आएको थियो। तर यसपटक युवा नेता खनालले पुराना दलहरूको प्रभाव भत्काउँदै नयाँ राजनीतिक समीकरण बनाएका छन्। पेशाले अधिवक्ता तथा शिक्षक रहेका खनाल भदौ २३ को जेनजी आन्दोलनमा अग्रपंक्तिमा सक्रिय थिए। उनी नेपाल जेनजी फ्रन्ट का संवाद समिति संयोजकसमेत हुन् र सरकार–आन्दोलन पक्षबीच भएको सम्झौताको मस्यौदा तयार पार्न मुख्य भूमिका खेलेका थिए।यसअघि उनी सांसद असीम शाह को सचिवालय प्रमुख तथा युवा तथा खेलकुद मन्त्रालयका परामर्शदाताका रूपमा पनि काम गरिसकेका छन्। २०७२ सालमा नवलपुरकै सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका खनाल २०७३ सालदेखि विवेकशील नेपाली दल मार्फत राजनीतिमा सक्रिय भएका हुन्। निर्वाचित भएपछि खनालले आफ्नो कार्यकाल जेनजी विद्रोहका मागहरूलाई संस्थागत गर्न केन्द्रित हुने बताएका छन्।
