गृहमन्त्री ओमप्रकश अर्यालद्वारा केन्द्रीय निर्वाचन सेलको निरीक्षण

Spread the love


गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय निर्वाचन सेल र कमाण्ड सेन्टरको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले केन्द्रीय निर्वाचन सेलबाट सबै जिल्लास्थित निर्वाचन सेलबाट भइरहेको कामकारबाही एवम् गतिविधि बारेमा जानकारी समेत लिनुभयो । साथै उहाँले प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई लक्षित गर्दै निर्वाचन सुरक्षा तथा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन नेपाल प्रहरीले प्रयोग गरेको विभिन्न प्रणाली सम्बन्धी जानकारी समेत लिनुभयो ।सो अवसरमा गृहमन्त्री अर्यालले निर्वाचन सेलबाट भइरहेको कामकारबाहीको प्रशंसा गर्दै आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गराउन थप सक्रिय भई कार्य गर्न निर्देशन दिनुभयो । साथै निर्वाचनको समयमा हुन सक्ने चुनौतीको सामना गर्न समेत अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाली सेनाका रथी प्रदिपजंग केसी, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक वरिष्ठ प्रहरी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई लक्षित गर्दै निर्वाचन सुरक्षा तथा व्यवस्थापनलाई थप व्यवस्थित, छिटो र प्रविधिमैत्री बनाउन नेपाल प्रहरीले Election Management Information System (EMIS) प्रणाली प्रयोगमा ल्याएको छ । उक्त प्रणालीमार्फत प्रदेश, जिल्ला र स्थानीय तह सम्म निर्वाचन प्रहरी, नेपाल प्रहरीको जनशक्ति visualization गर्न सकिन्छ । निर्वाचनसँग सम्बन्धित क्रियाकलापलाई Online Computerized Election Management System मार्फत छिटो छरितो ढंगबाट सम्पन्न गर्ने तथा आवश्यकता अनुसारको रिपोर्ट तयार गर्नु यस प्रणालीको मुख्य उद्देश्य रहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘निर्वाचन सुरक्षा तथा व्यवस्थापनलाई थप व्यवस्थित एवम् छिटो बनाउन नेपाल प्रहरीले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिरहेको छ । प्रविधिमैत्री सुरक्षा व्यवस्थापन अन्तर्गत EMIS प्रणालीको प्रयोगबाट देशभरका सबै मतदानस्थलको सुरक्षा व्यवस्थापन बारेमा नेपाल प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टरबाट नै निगरानी गर्न सकिने र आवश्यकता अनुसार कमाण्ड सेन्टरबाट नै आवश्यक निर्देशन दिन सकिनेछ । यसले निर्वाचनको समयमा मतदानस्थलको सुरक्षालाई थप मजबुत बनाउन सहयोग गरेको छ ।’

यसैगरी देशभर एआई फिचर सहित जडान भएका ७ सय ८६ वटा सिसिटिभिबाट निर्वाचन सुरक्षा व्यवस्थापन सम्बन्धी गतिविधिहरू कमाण्ड सेन्टरबाटै नै प्रत्यक्ष निगरानी हुनेछ । ७ वटा सीमा नाकाका २२ वटा, काठमाडौंभित्र मुख्य चेकप्वाइन्ट, चोक गरी ७ सय वटा तथा काठमाडौं बाहिर विराटनगर र वीरगंजमा ६४ वटा सिसिटिभि जडान गरिएको छ । सिसिटिभि क्यामेरामा एआई फिचर सहितको Face recognition, Automatic Number plate recognition, Behavior Analysis, Smart AI Feature लगायतको विशेषता रहेको छ । प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘प्रविधिमैत्री सुरक्षा योजना, सूचना संकलन प्रणालीको सुदृढीकरण र आकस्मिक परिस्थितिको द्रुत प्रतिकारको लागि सुरक्षा तयारीलाई प्राथमिकतामा राखिएको छ । देशभरका मतदानस्थल वरिपरि जडान गरिएका सिसिटिभि क्यामेराको कमाण्ड सेन्टरबाट नै प्रत्यक्ष निगरानी गरी मतदानस्थलको गतिविधि अवलोकन गर्नुका साथै मतदानस्थललाई सुरक्षित राख्न समेत आवश्यक सुरक्षा रणनीति तर्जुमा गरिएको छ ।’ यस्तै नेपाल प्रहरीले निर्वाचन सुरक्षा लक्षित Real Time Video Surveillance Camera सहितको रेडियो सेट संवेदनशील मतदानस्थलहरूमा वितरण गरेको छ । यसबाट पनि मतदानस्थलको गतिविधहरू सिधै कमाण्ड सेन्टरबाट प्रत्यक्ष निगरानी हुनेछ । सबै मतदानस्थलहरूमा संचार सम्पर्क हुने गरी संचार साधनको उचित व्यवस्थापन गरिएको छ । साथै कमाण्ड सेन्टरबाट नै प्रत्यक्ष निगरानी हुने गरी आवश्यकता अनुसार मतदानस्थल वरिपरि सुरक्षा व्यवस्थापनको अनुगमन गर्नको लागि ड्रोनको प्रयोग समेत गरिने छ ।

यस्तै नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC) सेलले सामाजिक सञ्जालमा गलत सूचना तथा मिथ्या सूचना (Misinformation/Disinformation) सम्प्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । सेल मार्फत काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयमा परिचालित साइबर प्रहरीबाट यस्ता गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन कार्य भइरहेको छ ।