मीना खरेलको घरदैलो समर्थन गर्न चितवन आए-रमेश खरेल

Spread the love

चितवन – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर २ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। निर्वाचन आउन अब आठ दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेलले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएकी छन्। घरदैलो, कोणसभा तथा भेटघाट कार्यक्रममार्फत उनी मतदातासम्म पुगिरहेकी छन्।

आज फागुन १३ गते भरतपुर महानगरपालिका–४ मा सम्पन्न घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो। हजारौंको संख्यामा नेता–कार्यकर्ता तथा स्थानीय समर्थकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा खरेलप्रति देखिएको उत्साहले क्षेत्रको चुनावी समीकरण थप रोचक बनेको छ । भरतपुर–४ स्वयं खरेलको बसोबास क्षेत्रसमेत भएकाले आफ्नै वडामा उनले पाएको समर्थनलाई विशेष रुपमा हेरिएको छ।

भरतपुर–४ धर्मचोकमा कोणसभा आयोजना गरिएको थियो, जहाँ उल्लेख्य जनसहभागिता देखिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले आफ्नै वडाबाट पाएको माया, साथ र समर्थनले आफू भावुक बनेको बताइन्।

उनले भनिन्, “मैले कल्पना समेत नगरेका धेरै मान्छेहरू आजको घरदैलो र कोणसभामा उपस्थित भएर मलाई हौसला दिनुभयो। यही माया, विश्वास र साथले अब हाम्रो जित सुनिश्चित भएको महसुस गरेको छु। तपाईँहरूले राख्नुभएको भरोसालाई कामबाट प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। हृदयदेखि धन्यवाद।”

उनको चुनावी अभियानमा समर्थन जनाउन पूर्वडीआईजी रमेश खरेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितनारायण श्रेष्ठ, प्रदेश सभा सदस्य उत्तम जोशी तथा चितवन जिल्ला पार्टी सभापति राजेश्वर खनाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै रमेश खरेलले मीना खरेललाई आदर्श समाजसेवी नेतृको रूपमा चित्रण गर्दै चितवन–२ का मतदाताले ऐतिहासिक अवसर पाएको उल्लेख गरे।

उनले भने, “लामो समयदेखि असहाय, पीडित महिला तथा बालबालिकाको आवाज बनेकी मिना खरेलजस्तो उम्मेदवार पाउनु चितवन–२ मात्र होइन, सिंगो राष्ट्रकै लागि गर्वको विषय हो। यो लडाइँ कुनै लोकप्रियताको होइन, सत्य र असत्यबीचको संघर्ष हो। यसमा चितवन–२ का जनता चुक्नु हुँदैन।”

उनले खरेलले करिब चार दशकदेखि समाजसेवाको क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै अब त्यो अनुभव र प्रतिबद्धता संघीय संसदमार्फत राष्ट्र निर्माणमा प्रयोग हुने विश्वास व्यक्त गरे। “यस क्षेत्रलाई जीवन समर्पित गरेकी नेत्रीलाई भोट नदिनु भनेको चितवन र यहाँका पीडित समुदायको अपमान गर्नु हो,” उनले भने, “हामी ढुक्क छौँ, यसपटक चितवन–२ का मतदाताले सम्मानसहित भोट दिएर उहाँलाई विजयी गराउनुहुनेछ।”

घरदैलो कार्यक्रमकै क्रममा भरतपुर–४ स्थित लक्ष्मिनारायण मन्दिर परिसरमा समर्थकहरूले खरेललाई फूलमालासहित भजन–कीर्तन गरेर स्वागत गरेका थिए। स्थानीय महिलाहरू र युवाहरूको सहभागितामा गरिएको स्वागत कार्यक्रमले चुनावी माहोललाई थप उत्साहपूर्ण बनाएको थियो। आफ्नै क्षेत्रकी निष्ठावान र कर्मशील व्यक्तित्व उम्मेदवार पाएको उल्लेख गर्दै स्थानीय बासिन्दाहरूले यसपटकको मतदानमा कुनै पार्टीभन्दा माथि उठेर मीना खरेललाई नै मत दिने बताएका छन्।

निर्वाचन मिति नजिकिँदै जाँदा चितवन–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा चर्किंदै गएको छ। यद्यपि भरतपुर–४ मा देखिएको सहभागिता र समर्थनले मीना कुमारी खरेलको अभियान थप उत्साहित बनेको स्थानीयहरु बताउछन् ।