बहुचर्चित फेक रेस्क्यू प्रकरणमा संलग्न थप दुई जना पक्राउ

Spread the love

पर्वतारोहण क्षेत्रमा भएको बहुचर्चित ‘फेक रेस्क्यू’ प्रकरणमा संलग्न थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो।काठमाडौं महानगरपालिका–३१ निवासी सिंहलाई बुधबार पक्राउ गरिएको हो भने धादिङको ज्वालामुखी गाउँपालिका–२ घर भएका तिवारीलाई मंगलबार नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ। यसअघि नै उक्त प्रकरणमा ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमा कम्पनीका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी–सञ्चालकसहित नौ जनालाई पक्राउ गरिसकिएको छ।ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार अभियुक्तहरूले उच्च हिमाली क्षेत्रमा पदयात्रामा गएका विदेशी पर्यटकलाई स्वास्थ्य समस्या परेको देखाएर नक्कली उद्धार (फेक रेस्क्यू) गरेको नाटक गर्दै बिमा कम्पनीबाट रकम दाबी गरी गैरकानुनी आर्थिक लाभ लिएका थिए। अनुसन्धानबाट संगठित रूपमा यस्तो गतिविधि सञ्चालन गरिएको प्रारम्भिक तथ्य खुलेको छ।प्रहरीले प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको जनाएको छ। पर्यटन क्षेत्रमा नक्कली उद्धार देखाएर बिमा ठगी गर्ने गिरोह सक्रिय रहेको आशंकासहित सीआईबीले अनुसन्धानलाई तीव्रता दिएको छ।