भारत सरकारले सशस्त्र प्रहरी बल नेपाललाई १० हजार टियर ग्याँस सेल अनुदानस्वरूप प्रदान

Spread the love

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले सशस्त्र प्रहरी बल नेपाललाई १० हजार टियर ग्याँस सेल अनुदानस्वरूप उपलब्ध गराएको छ। सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतका अनुसार निर्वाचन सुरक्षालाई सुदृढ बनाउन उक्त सामग्री प्राप्त भएको हो।सुरक्षा तयारीलाई सघाउन भारत सरकारले सवारी साधनसमेत उपलब्ध गराएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि नेपाल सरकारलाई कुल ५३८ वटा गाडी सहयोगस्वरूप हस्तान्तरण गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। ती सबै गाडी नेपाल आइपुगेका छन्।भारतबाट प्राप्त सवारी साधनमा बोलेरो जिप, स्कोर्पियो तथा स्कोर्पियो पिकअप रहेका छन्। तीमध्ये नेपाल सरकारले ९३ वटा गाडी सशस्त्र प्रहरी बललाई उपलब्ध गराएको छ। गृह मन्त्रालयमार्फत वितरण गरिएका गाडीहरू हालसम्म ४४ जिल्लामा पठाइसकिएको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ।अधिकृतका अनुसार आज मात्रै थप १० जिल्लामा नयाँ गाडी पठाइएको छ। निर्वाचन सुरक्षालाई प्रभावकारी र व्यवस्थित बनाउन सामग्री तथा सवारी साधन वितरण कार्य तीव्र पारिएको जनाइएको छ।