जलजलेमा भेटिएको ग्यास पेट्रोल र डिजेलको विकल्पका रूपमा सवारी साधनमा पनि प्रयोग हुने
दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा भेटिएको ग्यास पेट्रोल र डिजेलको विकल्पका रूपमा सवारी साधनमा पनि प्रयोग हुन सक्ने विज्ञहरूले जनाएका छन्।खानी तथा भूगर्भ विभागका सूचना अधिकारी तथा पेट्रोलियम अन्वेषण परियोजनामा कार्यरत विज्ञ प्रकाश लुइँटेलले दैलेखमा भेटिएको ग्यास खाना पकाउनको लागि मात्र नभई डिजेल र पेट्रोलकै विकल्पमा सवारी साधानमा पनि प्रयोग गर्न सकिने बताए।भारतमा मिथेन ग्यासलाई पेट्रोल तथा डिजेलको विकल्पको रूपमा गाडीमा प्रयोग गर्न थालिएको छ। दैलेखमा भेटिएको प्राकतिक ग्यास पनि त्यसरी नै पेट्रोल र डिजेलको विकल्पमा प्रयोग गर्न सकिने देखिएको छ’, उनले भने।दैलेखमा भेटिएको ग्यासलाई पेट्रोल तथा डिजेलको विकल्पमा पनि प्रयोग गर्ने हो भने पेट्रोल र डिजेल आयतमा बाहिरिने अर्बौ रकम जोगिने निश्चित छ। किनभने अहिलेसम्म नेपालले पेट्रोल, डिजल र खानापकाउने ग्यास विदेशबाट आयात गर्दै आएको छ। यसमा लाखौं रुपैयाँ विदेश गएको छ।नेपाल सरकार र चीनको जियोलोजिकल सर्भेबिच दुई अर्ब ४० करोड रुपैयाँको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो। सोहीअनुसार चिनियाँ टोलीले सेस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटोटेल्युरिक सर्भे र जियोकेमिकल सर्भे गरिएको हो।विभागका अनुसार दैलेखमा भटिएको प्राकृतिक ग्यासको उत्पादन परीक्षण गर्न र यस विषयमा अरु थप काम गर्नका लागि सहयोग पुर्याउन नेपाल सरकारले चीन सरकारलाई आग्रह गरिसकेको छ।विभागका अनुसार प्राकतिक ग्यास उत्पादन परीक्षण गर्न तथा व्यावसायिक रूपमा प्रयोगमा ल्याउन निकै कठिन काम हो। किनभने प्राकृतिक ग्यासलाई व्यावसायिक प्रयोजनका लागि निकाल्न चट्टान फोडेर ग्यास निकाल्नुपर्ने छ।दैलेखमा परापूर्वकालदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका र तल्लो डुंगेश्वर क्षेत्रलाई आधार मानेर गत २०७६ असोजदेखि चिनियाँ पक्षबाट अन्वेषण गर्न सुरु गरिएको थियो।विभागका अनुसार दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा भेटिएका ८० अर्ब ७० करोड घनमिटर खनिज ग्यासको भण्डारण भएको पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिकल सर्भे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास छ।
सूचना अधिकारी लुइँटेलका अनुसार चिनियाँ पक्षबाट अब फटाफट काम भए बढीमा एक वर्षभित्र यसको उत्पादन परीक्षण गर्न सकिन्छ। त्यस अनुसार उपकरणहरू दैलेख लग्नुपर्ने छ। विभागका अनुसार यसअघि गरिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर ग्यास हुनसक्ने अनुमान गरिएको थियो। थप परीक्षण र अन्तिम अध्ययनले पूर्वअनुमानभन्दा निकै बढी परिमाणमा ग्यास रहेको प्रमाणित भएको विभागका कर्मचारीहरूको भनाइ छ।लुइँटेलले भने, ‘अहिले भण्डारण पुष्टि भएको छ। यसको व्यावसायिक उत्पादन र उत्खनन क्षमताको वास्तविक जानकारी भने ‘वेल टेस्टिङ’ पछि मात्र प्राप्त हुने छ।’विभागका अनुसार अहिले भण्डारणको आकार मात्र पत्ता लागेको हो। त्यस ग्यासलाई कसरी बाहिर निकाल्न सकिन्छ र कुन प्रविधि उपयुक्त हुन्छ भन्नेबारे परीक्षण नगरेसम्म अन्तिम टुंगो लाग्दैन।सूचना अधिकारी लुइँटेलका अनुसार दैलेखमा भेटिएको ग्यास पाइप लाइनबाट पनि वितरण गर्न सकिन्छ। त्यसैगरी अहिले जस्तो गरी सिलिन्डरमा भरेर पनि वितरण गर्न सकिन्छ। ‘त्यसरी भरिने सिलिन्डर अहिलेको जस्तो हुने छैन। तिनीहरूको स्वरूप फेरिने छ’, उनले भने।विभागका अनुसार अबको चरणमा ‘ड्रिल’ गरिएको स्थानमा अन्य उपकरण प्रयोग गरी चट्टान फुटाउने वा प्राकृतिक ग्यास विस्थापित गर्ने प्रक्रिया अपनाइनेछ। त्यसपछि प्राविधिकहरूले त्यसरी निस्कने ग्यासमा भएका तत्त्वको प्रयोगशाला परीक्षण गर्नेछन्। त्यसपछि मात्र व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढ्ने विभागका कर्मचारीहरूको भनाइ छ।
