संगठन प्रमुख पवन चौधरी ले पार्टीको साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा

Spread the love

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सदस्य तथा बारा जिल्ला सह–सचिव एवं संगठन प्रमुख पवन चौधरी ले पार्टीको साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा दिएका छन्। उनी २०७९ को निर्वाचनमा बारा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार थिए।चौधरीले २०७९ साल श्रावण ७ गतेदेखि पार्टीमा सक्रिय भई आफ्नो योग्यता, क्षमता, दक्षता र समय निस्वार्थ रूपमा समर्पण गर्दै आएको बताएका छन्। उनले ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ’ र ‘जान्नेलाई छान्ने’ मूल नाराबाट प्रेरित भएर रास्वपामा सक्रिय भएको उल्लेख गरेका छन्।आसन्न फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया तथा कार्यशैली स्थापनाकालीन मूल्य, पार्टी विधान तथा सार्वजनिक प्रतिबद्धतासँग मेल नखाने भएकाले उनले असहमति जनाएका छन्।उनले संगठनमा खटिएका सक्षम कार्यकर्ताहरूको योगदानको उचित मूल्यांकन नहुँदा, विधि र विधान विपरीत गतिविधि भएका साथै आर्थिक अनियमितताबाट प्रेरित निर्णयहरूले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पुर्‍याएको आरोप लगाएका छन्।

यी सबै परिस्थितिका कारण मौन बस्न नसकिने निष्कर्षमा पुगेको बताउँदै चौधरीले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा पेश गरेका छन्।राजीनामाको अन्त्यमा उनले पार्टीले अहिलेसम्म दिएको अभिभावकत्व, सहकार्य र अवसरप्रति हार्दिक आभार व्यक्त गरेका छन्।