सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको दाबीसहितका कागजात सार्वजनिक
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको दाबीसहितका कागजात सार्वजनिक गरेका छन्।काठमाडौंमा आयोजित खुला प्रश्नोत्तर कार्यक्रममा बोल्दै थापाले अदालती कागजात र चेक विवरण प्रस्तुत गर्दै आफ्नो आरोप व्यक्तिगत नभई अदालतमा दर्ता भएका तथ्यमा आधारित रहेको बताए।साथीहरूले प्रमाण खोइ भन्नुहुन्छ, म आज यहाँ प्रमाणसहित उपस्थित भएको छु। यो मैले बनाएको आरोप होइन, सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला र विभिन्न जिल्ला अदालतमा पेश भएका तथ्य हुन्,” उनले भने।थापाले चितवन र रुपन्देही जिल्ला अदालतमा रहेका मिसिलहरू उद्धृत गर्दै लामिछानेको नाममा करोडौँ रुपैयाँ ऋण प्रवाह भएको दाबी गरे। उनका अनुसार गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारीबाट आएको रकम खर्च गरिएको र सयौँ चेकमा लामिछानेकै हस्ताक्षर रहेको देखिएको छ।थापाको दाबी अनुसार चितवनको अदालती अभिलेखमा लामिछानेको नाममा ११ करोड ७० लाख रुपैयाँ गोर्खा मिडियामा गएको उल्लेख छ र ४१४ वटा चेकमा उनको हस्ताक्षर फेला परेको छ। त्यस्तै, बुटवलस्थित सुप्रिम सहकारीबाट पनि बिना धितो २ करोड रुपैयाँ व्यक्तिगत नाममा ऋण प्रवाह भएको उनले बताए।सर्वोच्च अदालतको वेबसाइटमा उपलब्ध फैसलाको बुँदा उद्धृत गर्दै थापाले लामिछाने प्रबन्ध निर्देशक हुनुअघि नै सञ्चालक समितिको बैठकमा सहभागी भएको तथा बैंक खाता खोल्ने निर्णयमा संलग्न रहेको जिकिर गरे।थापाले यी सबै विवरण सार्वजनिक दस्तावेजका रूपमा उपलब्ध रहेको र इच्छुक व्यक्तिले अदालतका अभिलेखमा हेर्न सक्ने बताए।यस विषयमा रास्वपा वा रवि लामिछानेतर्फबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।
