व्यक्तिगत इच्छाले सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नभएको -कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले आफ्नो व्यक्तिगत इच्छाले सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नभएको बताएका छन्। काठमाडौंमा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र जेनजी प्रतिनिधिको आग्रहलाई स्वीकार गरेर सरकारमा गएको स्पष्ट पारे।घिसिङले संकटको समयमा जिम्मेवारी सम्हालेर छोटो अवधिमै काम गरेर देखाएको दाबी गरे। ‘सङ्कटको बेलामा जिम्मेवारी लिएर मैले तीन महिनामा डेलिभरी दिएँ, चुनावको वातावरण बनाएर बाहिर आएका छौँ,’ उनले भने। उनले सुरुमा चुनावका लागि बनेको सरकारमा नजाने बताएको भए पनि प्रधानमन्त्रीको आग्रहपछि जिम्मेवारी स्वीकार गरेको खुलासा गरे। आफूलाई ‘भगौडा मन्त्री’ भनेर आलोचना गरिएकामा असन्तुष्टि जनाउँदै उनले छोटो समयमा देशलाई परिणाम दिएर सरकारबाट बाहिरिएको दाबी गरे।आगामी सरकारबाट देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने लक्ष्यसहित आफू अघि बढिरहेको बताए। आफूले चुनौती स्वीकार गरेर सरकारमा प्रवेश गरी परिणाम दिएको जिकिर गर्दै उनले ऊर्जा क्षेत्रमा लोडसेडिङ हटाएको अनुभवलाई स्मरण गरे।‘देशबाट लोडसेडिङ हटाएँ, अब राजनीतिक क्षेत्रको लोडसेडिङ हटाउन आएको छु,’ उनले भने। राजनीतिक क्षेत्रको अवरोध र अस्थिरता अन्त्य नगरेसम्म देशको समग्र अवस्था सुधार हुन नसक्ने उनको भनाइ थियो।कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। घिसिङले आगामी निर्वाचनलाई परिवर्तन र परिणाममुखी शासन स्थापनाको अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।
