दुर्गा प्रसाईंलाई हाजिर जमानीमा छाडिने

Spread the love

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा छाडिने भएको छ। साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने प्रक्रिया अघि बढाइएको हो। चाल्नाखेलबाट पक्राउ परेका उनलाई साइबर अपराध कसुरअन्तर्गत अनुसन्धानका लागि हिरासतमा राखिएको थियो।यसअघि पनि माघको पहिलो साता प्रसाईं हाजिर जमानीमै छुटेका थिए। पछिल्लो पटक उनीमाथि पुनः साइबर अपराधसम्बन्धी उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा आवश्यक कागजात र बयान संकलन भइसकेपछि उनलाई जमानीमा छाड्ने निर्णय गरिएको साइबर ब्युरोले जनाएको छ।प्रसाईं यसअघि नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयलाई लिएर पार्टी नेता गगन थापामाथि आर्थिक चलखेलको आरोप लगाउँदै भ्रमपूर्ण सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोपमा पक्राउ परेका थिए। सोही विषयमा निर्वाचन आयोगले समेत कारबाहीको माग गर्दै साइबर ब्युरोमा औपचारिक पत्राचार गरेको थियो।प्रहरीका अनुसार प्रसाईंविरुद्धको अनुसन्धान प्रक्रिया भने जारी रहनेछ। हाजिर जमानीमा रिहा गरिए पनि मुद्दाको अन्तिम टुंगो नलागेसम्म आवश्यक परेमा पुनः उपस्थित हुनुपर्ने र कानुनी प्रक्रियामा सहयोग गर्नुपर्ने सर्त तोकिएको छ।