कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झन्डा पनि आफूहरूकै पक्षमा रहेको दाबी – गगनकुमार थापा
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेपछि पार्टीभित्रको विवाद झनै चर्किएको छ। कारबाहीपछि प्रतिक्रिया दिँदै महामन्त्री गगन थापाले आफूहरू नै कांग्रेसको आधिकारिक पक्ष भएको दाबी गरेका छन्। उनले विशेष महाधिवेशनमार्फत विधिवत र विधानसम्मत रूपमा नेतृत्व चयनको प्रक्रिया अघि बढिसकेको भन्दै अब कुनै अलमलको अवस्था नरहेको बताए।देउवा समूहको केन्द्रीय समिति बैठकले निष्कासनको निर्णय गरेलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै थापाले विशेष महाधिवेशन पक्षधर नै वास्तविक कांग्रेस भएको स्पष्ट पारे। “यहाँ विधिवत र विधानसम्मत नेतृत्व चयन हुँदैछ, यही नै कांग्रेस हो,” उनले भने। उनका अनुसार विशेष महाधिवेशनको मनोनयन प्रक्रिया सम्पन्न भइसकेको छ र उम्मेदवारको नामावली सार्वजनिक हुने क्रममा छ।थापाले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगलाई जानकारी दिने तयारी भइरहेको जानकारी दिए। उनले कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झन्डा पनि आफूहरूकै पक्षमा रहेको दाबी गरे। “पार्टीको आधिकारिकता हामीसँगै छ,” उनको भनाइ थियो।देउवासँग अन्तिम संवादबारे प्रश्न गर्दा थापाले सभापति देउवाले वैशाखसम्म आफू स्वतः अलग हुने बताएको तर अहिले नै निष्क्रिय हुन नसक्ने जवाफ दिएको जानकारी दिए। “हामीले पर्खिन नसकेको होइन, देश, समाज र कार्यकर्ताले कुर्न सकेनन्,” थापाले भने। उनका अनुसार पार्टीभित्रको असन्तुष्टि लामो समयदेखि बढ्दै गएको र त्यसलाई बेवास्ता गर्दा परिस्थिति यहाँसम्म आइपुगेको हो।यसअघि पार्टी एकताका लागि संवादका प्रयास भए पनि सफल हुन नसकेको थापाले स्वीकार गरे। अब विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै कांग्रेसलाई अगाडि लैजाने बाटो खुलिसकेको उनको निष्कर्ष छ। निष्कासनको निर्णयपछि कांग्रेसभित्र दुई धार स्पष्ट देखिएको छ र आगामी दिनमा पार्टीको आधिकारिकता र वैधानिकताबारे विषय निर्वाचन आयोगसम्म पुग्ने संकेत देखिएको छ।
