किल स्विच प्रविधिले इन्टरनेट बन्द हुँदा इरानी अर्थतन्त्रलाई प्रतिघण्टा करिब १५ लाख ६० हजार डलर बराबरको क्षति
इरानमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीविरुद्ध जारी प्रदर्शन तेस्रो सातामा प्रवेश गर्दा सरकारको दमन झन् कडा बन्दै गएको छ। पछिल्ला विवरणअनुसार अहिलेसम्म ५३० भन्दा बढी मानिसको ज्यान गएको छ भने हजारौँ पक्राउ परेका छन्। यही क्रममा इरानी सरकारले एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकलाई निष्क्रिय बनाउन सैनिकस्तरको अत्याधुनिक ‘किल स्विच’ प्रविधि प्रयोग गरेको आरोप लागेको छ, जसका कारण करिब ८ करोड इरानी नागरिक डिजिटल अन्धकारमा परेका छन्।
इन्टरनेट पूर्ण रूपमा बन्द गरिएपछि सुरुमा प्रदर्शनकारीहरूका लागि स्टारलिंक बाहिरी संसारसँग सम्पर्क राख्ने एक मात्र माध्यम बनेको थियो। तर हालै इरान वायरलगायतका माध्यमले जनाएअनुसार सुरुमा करिब ३० प्रतिशत स्टारलिंक अपलिंक र डाउनलिंक ट्राफिक अवरुद्ध भएको थियो, जुन केही घण्टामै ८० प्रतिशतभन्दा बढी पुगेको छ। यसले अब स्टारलिंक पनि इरानमा प्रायः निष्क्रिय बनेको देखाएको छ।डिजिटल अधिकार र साइबर सुरक्षाका विज्ञहरूका अनुसार इरानी धार्मिक नेतृत्वले अत्यन्तै महँगो र सैन्यस्तरको ‘ज्यामिङ’ उपकरण प्रयोग गरेर स्टारलिंक स्याटेलाइटलाई अवरुद्ध गरेको हो। विज्ञहरूको अनुमानमा यस्तो उन्नत प्रविधि इरानले आफैँ विकास गरेको नभई रूस वा चीनबाट प्राप्त गरेको हुनसक्छ। इरानका साइबर सुरक्षा विज्ञ अमिर रशिदीले यस्तो स्तरको अवरोध उनले आफ्नो २० वर्षको अनुसन्धान अवधिमा कहिल्यै नदेखेको बताएका छन्।यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा इन्टरनेट पुनः सञ्चालन गराउने विषयमा एलन मस्कसँग कुरा गर्ने योजना रहेको बताएका छन्। ट्रम्पले आइतबार भने, “सम्भव भए इन्टरनेट चलाउने प्रयास गर्छौँ। एलन यसमा निकै दक्ष छन्।” ट्रम्पले यसअघि पनि इरानी प्रदर्शनकारीको पक्षमा उभिँदै खामेनी शासनले शान्तिपूर्ण प्रदर्शनकारीमाथि हिंसा गरे अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएका थिए।इरानमा जारी प्रदर्शन कम्तीमा २८० स्थानमा फैलिएको छ। खराब आर्थिक अवस्था, बेरोजगारी, महँगी, र गाजा तथा लेबनानका सशस्त्र समूहलाई समर्थन गर्दा आफ्नै नागरिक पीडामा परेको आरोपसहित प्रदर्शनकारीहरूले खामेनी शासनको राजीनामा माग गरिरहेका छन्। कतिपय स्थानमा पूर्व युवराज रेजा पहलवीको समर्थनमा नारा समेत लगाइएको छ। पहलवीले इरानी जनताको “स्वतन्त्रताको संघर्ष” मा ट्रम्पसँग सहयोग मागिसकेका छन्।
जनवरी ८ मा इरानी सरकारले इन्टरनेट ब्ल्याकआउट गरेपछि स्टारलिंकले फेरि एकपटक आशा जगाएको थियो। २०२२ को महसा अमिनी आन्दोलनपछि इरानमा स्टारलिंक प्रयोगकर्ताको संख्या बढ्दै आएको र हाल करिब ४० देखि ५० हजार मानिसले यो सेवा प्रयोग गरिरहेको अनुमान गरिएको छ। जुलाईमा भएको इरान–इजरायल युद्धका बेला १२ दिनको इन्टरनेट बन्दमा पनि केहीले स्टारलिंकमार्फत सेन्सरशिपरहित इन्टरनेट चलाएका थिए।तर युद्धपछि इरानले कडा नियन्त्रण अपनाउँदै स्टारलिंक र अन्य अनधिकृत स्याटेलाइट इन्टरनेट प्रयोगलाई प्रतिबन्ध लगाउने जासुसीविरोधी कानुन ल्यायो। व्यक्तिगत प्रयोगमा ६ महिना देखि २ वर्षसम्म कैद सजाय र जासुसीसँग जोडिए मृत्युदण्डसम्मको प्रावधान राखिएको छ।स्टारलिंक रिसिभरहरू जीपीएस प्रणालीमा आधारित हुने भएकाले इरानले उच्चशक्तिको रेडियो सिग्नल प्रयोग गरेर जीपीएस नै अवरुद्ध गरिरहेको बताइन्छ। पत्रकार तथा अनुसन्धानकर्ता साइमन मिग्लियानोका अनुसार यस्तो ‘किल स्विच’ प्रविधिले इन्टरनेट बन्द हुँदा इरानी अर्थतन्त्रलाई प्रतिघण्टा करिब १५ लाख ६० हजार डलर बराबरको क्षति पुगिरहेको छ।विशेषज्ञहरूका अनुसार रूसले युक्रेन युद्धमा यस्तै जीपीएस जामिङ प्रविधि प्रयोग गरेर स्टारलिंक र पश्चिमी प्रविधि अवरुद्ध गरेको थियो। चीनले पनि ताइवान वरपर स्टारलिंक जाम गर्न सक्ने क्षमताको अभ्यास गरिसकेको र बेइडोउ स्याटेलाइट प्रणालीसँगै एन्टी–जीपीएस प्रविधिमा ठूलो लगानी गरेको रिपोर्टहरूमा उल्लेख छ।यसरी, इरानमा जारी जनआन्दोलनका बीच खामेनी शासनले स्टारलिंक जाम गरेर बाहिरी संसारसँगको अन्तिम सम्पर्क पनि काटिदिएको आरोप लागेको छ। ८ करोड इरानी डिजिटल अन्धकारमा पर्दा अब ट्रम्प प्रशासन र एलन मस्कले कसरी इन्टरनेट पुनःस्थापना गर्छन् भन्ने विषय विश्वको ध्यानको केन्द्र बनेको छ।
