देशभरका विमानस्थल कारागार र मतदान केन्द्रकाे सुरक्षा नेपाली सेनाले सम्हाल्ने
सबिना प्रजा
फाल्गुण २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेनाले करिब ८० हजार सैनिक परिचालन गर्ने भएको छ। निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेसँगै सेनाले देशभर आफ्नो जनशक्ति परिचालन गर्ने योजना बनाएको छ।नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाले आफ्नो कुल जनशक्तिको करिब ९५ प्रतिशत, अर्थात् ८० हजार जनालाई निर्वाचन सुरक्षामा खटाउनेछ। सेनाको स्वीकृत कुल दरबन्दी ९६ हजार रहेको छ।अहिले सेना निर्वाचन क्षेत्रभर बेस स्थापना गर्ने तयारीमा छ। प्रवक्ता बस्नेतले भने, “निर्वाचनपूर्वको तयारी काम जारी छ। विभिन्न चरणमा तालिमहरू, अन्य सुरक्षा निकायसँग संयुक्त अभ्यास र जिल्लास्तरीय समन्वयको काम भइरहेको छ। फिल्डमा खटिनु पहिलेको योजना अनुसार मात्र हुनेछ।”नेपाली सेनाले निर्वाचनको क्रममा देशभरका विमानस्थल, कारागार र सुरक्षा प्रतिष्ठानको सुरक्षा जिम्मा पनि सम्हाल्नेछ। हाल यी स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन्, तर निर्वाचनका लागि जनशक्ति व्यवस्थापन र सुरक्षाको जिम्मा एकीकृत योजना अनुसार सेनाले लिनेछ।
राष्ट्रपतिले निर्वाचनकालीन सैनिक परिचालनका लागि पहिल्यै स्वीकृति दिइसकेका छन्। तीन महिनाअघि प्राप्त स्वीकृति अनुसार सेना तयारीमा लागेको हो।सुरक्षा तयारी अन्तर्गत पाँचवटा प्रदेशमा निर्वाचन केन्द्रित सुरक्षा गोष्ठी सम्पन्न भइसकेको छ। मधेस र बागमती प्रदेशमा मात्र गोष्ठी बाँकी छ। गोष्ठीमा नेपाली सेना, प्रमुख जिल्ला अधिकारी र सबै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले सहभागिता जनाएका थिए।एकीकृत सुरक्षा योजनाअनुसार सेनाले तेस्रो घेरामा रहँदै सुरक्षा प्रदान गर्नेछ। आवश्यकता अनुसार कुनै जिल्लामा जनशक्ति अपुग भए अन्य जिल्लाबाट सहयोग माग गरिनेछ। प्रत्येक पृतनाले आफ्नो क्षेत्रको सम्पूर्ण सुरक्षा व्यवस्थापन गर्नेछ।निर्वाचन आयोगले शुक्रबारदेखि मतदाताको नामावली छाप्न सुरु गरेको छ। दलहरूले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् र आयोगले आवश्यक परेमा सच्याउने समय दिनेछ। यसै निर्वाचनमा समानुपातिकतर्फ ६४ दलले ५८ वटा चुनाव चिन्हमा भाग लिने तयारी गरेका छन्।
