पेट्रोलियम पदार्थको मूल्य घट्याे

Spread the love

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा चार रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर पाँच रुपैयाँ घटाइएको हो । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको निगमले जनाएको छ । एलपी ग्याँसको मूल्य बढेर आएको भएता पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर बिक्री मूल्य यथावत् राखिएको जनाइएको छ ।निगम सञ्चालक समितिको मिति २०८२/०९/१६ को निर्णयानुसार १ जनवरी, २०२६ (मिति २०८२/०९/१७)को बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा रु ४ ले, डिजेल/मट्टितेलमा प्रतिलिटर रु. ५.०० ले, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६.०० र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले घटाईएको छ,” निगमले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५८ रुपैयाँ र तेस्रो वर्गका लागि १५९ रुपैयाँ तोकिएको छ । त्यस्तै, डिजेल/मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १३६ रुपैयाँ र तेस्रो वर्गका लागि १३७ रुपैयाँ तोकिएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।