श्रम, रोजगार मन्त्रिले श्रम क्षेत्रका संगठित गिरोहको सञ्जाल तोड्ने
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रालयमा आन्तरिक शुद्धीकरणबाट आफूले कामको सुरुवात गर्ने बताएका छन् । श्रम मन्त्रालय निकै बदनाम रहेकाले यसलाई जनताको हितमा काम गर्ने गरी सुधार गरिने बताएका छन् । शुक्रबार पदभार ग्रहणको क्रममा सुधारका लागि कार्यदल गठनसम्बन्धी प्रस्ताव कर्मचारीले ल्याएका थिए। तर, उनले त्यसमा हस्ताक्षर गरेनन्। आर्थिक भार पर्ने गरी कार्यदल गठन गर्ने प्रस्ताव नभई सुधारको एक्सन प्लान ल्याउन उनले निर्देशन दिएका थिए। अब नयाँ कोणबाट अघि बढ्नुपर्ने भन्दै उनले कर्मचारीलाई निर्देशन दिँदै मन्त्री भण्डारीले भने– ड्रप योर ब्यागेज।भण्डारी नेपाल प्रहरीको अवकाशप्राप्त एआइजी हुन् । सिआइबीका संस्थापक निर्देशक रहेका भण्डारी प्रहरीमा रहँदा सुधारका काम गर्ने अधिकृतका रूपमा परिचित छन् । उनले आफू श्रम क्षेत्रका संगठित गिरोहको सञ्जाल तोड्न लाग्ने बताए । ‘संगठित गिरोहको जालो तोड्नैपर्छ, यसका लागि एक खालले मेरो अनुभवले काम गर्छ भन्ने मलाई लागिरहेको छ,’ उनले भने, ‘यसका लागि गृह मन्त्रालय र प्रहरीका साथीहरूसँग पनि सहकार्य गर्नुपर्ने हुन सक्छ, टाक्सफोर्स बनाएर अघि बढ्नुपर्ने पनि हुन सक्छ । भाषण गरेर होइन, एक्सनमा गएर आमनागरिकलाई सुशासनको प्रत्याभूति दिने बताउनु भयाे ।
